मल, नुन र पाठ्यपुस्तक नेपालीका लागि अत्यासलाग्दो विषय बन्दै आएको छ । खेती लगाइसक्दा पनि मल नपाउँदा किसान मर्कामा पर्दै आएका छन् । दुर्गममा नुन नपुग्दा जनता मर्कामा पर्छन् । अझ पढाइ सुरु भएर आधाउधी समय बित्दा पनि पाठ्यपुस्तक नपुग्नु अर्को पिरलोको विषय थियो । तर अघिल्लो वर्षबाट भने स्कुले बालबालिकाले समयमै पाठ्यपुस्तक पाउन थालेका छन् । यो सबैभन्दा खुसीको विषय भएको छ ।
यसपटक पनि सरकारले समयमै पाठ्यपुस्तक पु¥याउन जोडबल गरेको देखिन्छ । देशभरका सरकारी, सामुदायिक विद्यालयका लागि जनक शिक्षा सामग्रीले पाठ्यसामग्री तयार गर्छ । ती सामग्री पहिले त अन्तिम रुप दिनै समय लाग्छ । त्यसमाथि छपाइमा ढिला हुँदा विद्यार्थीले यसअघि धेरैले अन्तिम परीक्षाताका पुस्तक पाउने गर्थे । जसकारण परीक्षाका नतिजा निकै फितलो हुने गथ्र्यो ।
सरकारी नियमअनुसार सार्वजनिक टेण्डर आह्वान गर्दा, कमिसनको चक्कर चल्दा छपाइमा ढिला हुने देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं लागेर अघिल्लोपटक समयमै पाठ्यपुस्तक तयार पारिएको थियो । यसपटक पनि जनक शिक्षाले सतप्रतिशत छपाइ सकिसकेको जनाएको छ । आगामी शैक्षिकसत्र २०८१ वैशाखबाट सुरु हुँदै छ ।
अहिले ताप्लेजुङदेखि हुम्ला, जुम्लालगायत दुर्गम जिल्लाका विद्यार्थीहरुले शैक्षिकसत्र सुरु हुनुअघि नै पुस्तक पाएका समाचारहरु आइरहेका छन् । यो सरकारको सराहनीय कार्य हो । सरकारले छपाइ चाँडो सकाउन एकदेखि कक्षा ४ सम्मका लागि निजी संस्थालाई जिम्मा दिएको छ भने कक्षा ५ देखि माथिका किताबहरु आफैंले प्रकाशन गर्न थालेको छ । कक्षा सुरु हुनुअघि विद्यार्थीको हातमा किताब पुग्दा नतिजामासमेत सुधार देखिन थालिएको शिक्षाविद्हरु बताउँछन् ।
समयमै प्रकाशन र ढुवानीसँगै सरकारले यसको वितरणमा पनि विशेष ध्यान दिनु जरुरी छ । सरकारी पाठ्यपुस्तकमा कमिसन नआउने भन्दै बिक्रेताले समयमै वितरण नगर्ने, किताब भए पनि लुकाएर राख्ने प्रवृत्ति उत्तिकै छ । यस विषयमा पनि सरकार चनाखो हुनुपर्छ । अर्को विषय निःशुल्क पाइने पाठ्यपुस्तकमा विद्यार्थीलाई पैसा लिएर बेच्ने प्रवृत्ति पनि छ । पैसा नदिएमा किताब छैन भन्दै फर्काउने विषयमा सरकारले सूक्ष्मरुपले अध्ययन गर्नुपर्छ ।
अर्को विषय सरकारी पाठ्यपुस्तक ढुवानीका क्रममा च्यातिने र फोहोर हुने हुन्छ । निश्चित कोटामा लैजाँदा केही विद्यार्थीले च्यातेका, फोहोर भएका किताब पनि पढ्न बाध्य हुन्छन् । विद्यार्थीका लागि नयाँ र सफा किताब पाउनुजति रमाइलो कहिल्यै हुन्न । तर वितरक, व्यवस्थापनमा कमजोरीका कारण केहीले च्यातेका, फोहर भएका किताब पढ्नुपर्दा हतोत्साही हुने गर्छन् । त्यसैले यस्ता विषयमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।