सात समुद्रपारिबाट ठाइलोले मोबाइलबाट भिडियो कल गर्दै कमल दाइलाई भन्दै थियो, ‘थाऽ पाउनु भो दाइ, यहाँ पनि फुट्यो ? ठाइलोको कुरा कमल दाइले बुझे कि बुझेनन् कुन्नि हो र ? भन्दै उत्तर फर्काइदिए । ठाइलोले फेरि भन्यो– जहाँ गए पनि यो नेपालीहरु कहिल्यै नसुध्रिने भए । गुट फुटमै रमाउने ।
कमल दाइले भने– हो त के भाका हुन् । के सिके हो विदेशाँ बसेर पनि । हिजो गाउँमा बसेको भन्दा पनि केही फरक देखिएनन् ।ठाइलोले भन्यो– हो नि दाइ यस्तो पनि गर्न हुन्छ त ? सबलाई पद चाहिएको छ । पदका लागि जे गर्न पनि तयार हुने । कमल दाइले फेरि उत्तर फर्काए– हो नि भाइ नेपालीहरुलाई नानीदेखि लागेको झोले बन्ने बानी कहाँ छुट्छ र ! देश छोडेर जाने, विदेश पुगेर देशलाई सत्तोसराप गाली गर्ने ? खै हाम्रा पुर्खाले त यस्तो कुरा सिकाएका थिएनन् क्यारे ? के सभ्यता सिके सिके !
आफ्ना पतिदेवको कुरा सुनेर प्याकुली भान्साकोठाबाट बाहिर निस्केर भनिन्– सिके सिके राम्रा कुरा सिके । तिमी जस्ताका कुरा सुने यी विदेशाँ बस्नेहरुको भाउ बढेको बढ्यै छ । यिनको भाउ बढ्नेगरी किन कुरा गर्नु पर्यो !
प्याकुलीको कुरा सुनेर कमल दाइको पनि रिसको पारो अलि माथि बढ्छ । ‘नकरा, उता जाऊ । यहाँ कस्तो कुरा भाको छ । खाली किचकिचे कुरा गरेको छ ।’ ‘अँऽ मैले बोलेपछि किचेकिचे कुरा गरेको त हुन्छ नि ? झाँक्रीले त्यसै भनेकी हुन् र ? बिहान उठ्यो, आँखाको चिप्रा पुछ्न नपाउँदै देशलाई गाली गर्यो, नेतालाई गाली गर्यो । अनि फेरि झण्डा भिरेर के–के न राष्ट्रवादी बन्न खोज्ने एनारदेहरु !’ ‘यता फोनमा कुरा गरिराको देखेनौं तिमीले ? विचराहरु वहाँ रातभर दिनभर काम गर्नपर्छ बल्लबल्ल फुर्सद पाएर फोन गरेको छ । त्यसमा पनि तिम्रो कचकचले डिस्टर्ब !’
उताबाट ठाइला भन्छ– ल ल दाइ, पछि गफ गरौंला नि एक छिनमा काम गर्न हिँड्नु छ । त्यहाँ जस्तो कहाँ छ र ? यहाँ त काम नगरे मुखमा माड पनि लाग्दैन । सामाजिक सञ्जालमा बौलाको जस्तो कहाँ हुन्छ र ! भाउजुले भनेको कुरा ठीकै हो दाइ । उताबाट ठाइलाको कुरा सुनेर प्याकुली फेरि भन्छिन्– देख्यौ ? मैले कचकच गरेको रै’छ त ? उता काम नगरे मुखमा माड लाग्दैन रे । अनि नेपालाँ काम गर्न लाज हुने उता गएपछि जस्तो पनि काम गर्ने अनि फेरि यही देशलाई गाली गर्ने ? यस्ता नारनेहरुले नै हो देश बन्न नदिने । हो कि होइन ठाइलाबाबु लु भन्नुस् त ?
टाढैबाट कमल दाइको मोबाइलको भिडियो कलमा प्याकुलीले आवाज फालिहाल्छे । भाउजुको कुरा सुनेर खित्का छाड्दै ठाइलाले झटारो हान्छन्– हो भाउजु यो विदेशाँ आउने बस्नेहरुको कुरा नै ठूलो हुने । दिनभर गधाजस्तो जोतिने हुन् । अनि सामाजिक सञ्जाल हेरेर देशविरुद्ध विषवमन गर्ने हुन् । कम गाह्रो छ । त्यहाँको पैसाको तुलनामा पो यहाँको पैसा धेरै हो त । यो पनि देश हो र ? देश त हाम्रै हो स्वर्ग । तर के गर्नु स्वर्गजस्तो देशलाई नर्क बनाए । कमल दाइ केही बोल्दैनन् । प्याकुलीले नै जवाफ दिन्छन्– हेर बाबु त्यहाँ बस्ने देश र नेतालाई गाली गर्ने अनि त्यही नेता त्यहाँ आएपछि भगवान् नै आएजस्तो गर्ने झोलेहरु ।
भाउजुलाई पनि झोलेले हैरान पारेजस्तो छ । हो नि त्यहाँका र यहाँका झोले एउटै त हुन् । मुखले एउटा कुरा गर्ने व्यवहारले अर्को कुरा गर्ने ? हेर्नुस् बाबु चित्त नदुखाउनु होला यो देशको चिन्ता भनेको रेमिट्यान्स भित्र्याउन मलेसिया दुबई, कतार गएकाहरुलाई मात्र हो । अम्रिका, अस्ट्रेलिया जाने त यो देशलाई कंगाल बनाएर गएका हुन् । न त तिनले देशलाई माया गर्छन् न त देशको हित नै गर्दछन् । एनारनेका नाममा आफ्नो स्वार्थपूर्ति गर्नेमात्र हुन् ।
भाउजुको कुरामा ठाइला सही थाप्छन्– हो भाउजु वास्तविकत नै त्यही हो । सामाजिक सञ्जालमा देशलाई गाली गर्नेले देशलाई कसरी माया गर्छ ? हिजो देशलाई गाली गर्दै विदेश जाने अनि अहिले दुई–चार पैसा कमाएर देशविरुद्ध बोल्नेहरु बढ्न थाले । कमल दाइ अलमल्ल परेका छन् । ठाइला र प्याकुलीको कुरा सुनेर दंग पनि परेका छन् । ‘कुरा त तिमीहरुका पनि ठीकै हो तर के गर्नु ? आफू त जता हावा लाग्यो त्यतै बग्ने राजनीतिक प्राणी परियो । सुन्ने हो बस्ने हो ।’प्याकुलीले कमल दाइलाई पनि छाडिनन् । ‘त्यही भएर त झोले भनेका हुन् नि । तिम्रा दलले जे गरे पनि ठीक अरूले गरे बेठिक !’
प्याकुलीको कुराले कमल दाइलाई निकै नै मन दुखेको जस्तो देखियो । धेरै झोले झोले भनेको भएर होला विचरा कमल दाइ सत्ता र शक्तिको पछि परेकाले भोलि नै देश छाडौंजस्तो भयो रे ! ‘हेर भाइ, यस्तै झोले झोले भन्ने बढे भने म पनि एनारने बन्ने हो ? झूठको खेती, भ्रमको चर्चा । देशको नाममा आफ्नै मात्र स्वार्थ बोकेर हिँड्ने भनेकै एनारने हो ।’‘हो, बल्ल बुद्धिको घैटोमा घाम लाग्यो जस्तो छ,’ प्याकुलीले प्याट्ट बोलिहाली । यता बूढाबुढीको किचलो चलिरहेका बेला उता ठाइला भने दंग परिरहेका छन् ।
यो एनारने भनेपछि सबले मान्ने ! देशलाई गाली गरे पनि नेतालाई गाली गरे पनि पैसाको धाकले सबैलाई पछार्न पनि पाइने । यताको पनि नागरिक उताको पनि नागरिक बन्न पाइने । अनि देश बनाउने भन्दै चन्दा उठाएर आफ्नै स्वार्थमा चलाउने भनेकै एनारने हो । हेर भाइ अब म पनि एनारने बन्ने हो ? कमल दाइले बल्ल चुरो कुरो खोले !‘उता बसेर नेतालाई गाली गरो, उतै नेता आएपछि गणेश नै बन्यो । बाउबाजेले जोगाइदिएको घरखेत बेचेर सबै लिएर गाकोले देशको चिन्ता गर्न अलि नसुहाउने रैछ,’ प्याकुलीले फेरि मुख खोली ।
ठाइला बोल्न मन लागेर पनि बोल्न सकिरहेको छैन । एनारनेहरुको झगडा र कमल दाइ र प्याकुलीको झगडा उस्तैउस्तै हो । एकैछिनमा मिलिहाल्ने ! एकैछिन झगडा गरेजस्तो गर्यो अनि कुन्नि के–के बाँडफाँड गर्यो मिलिगो । पुष्प–ओली मिलेजस्तो । एनारने बन्नुका फाइदै त्यही हो । दुवै हातमा लड्डु ।ठाइला भन्छन्– देश बनाउने कोही छैन है दाइ दुई÷चार जना हो कि हो कि जस्तो देखिन्छन् । अनि फेरि कसले के पोलिदिन्छ फुस्किन्छन् । त्यसैले कसैको भर नपरे पनि हुन्छ । त्यसमाथि पनि त्यो एनारने भन्नेको त कहिल्यै झुक्केर पनि विश्वास नगर्नू ।
ठाइलाले नै त्यत्ति भने पनि कमल दाइको एनारने भन्ने सपना पूरा हुने पो देखियो ? तर प्याकुलीले भनेजस्तै झोले त झोले नै हो नि, चाहे एनारने होस् चाहे दले झोले नै किन नहोस् । स्वार्थका पोकाहरु हुन् है दाइ, सचेत बन्नु । सचेत रहनु । अर्को चोटी यसैगरी वात मारौला । भन्दै गर्दा कमल दाइको इन्टरनेट नै कट !