भरतपुर - प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा आज भएको फाइनल खेलमा कोशी प्रदेशलाई पाँच विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो ।
उपाधिसँगै सुदूरपश्चिमले ट्रफी र स्वर्ण पदक प्राप्त गर्यो । उपविजेता कोशी प्रदेशले ट्रफी र रजत पदक प्राप्त गर्यो । विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद ईश्वर सापकोटाले पुरस्कार प्रदान गरे ।
उक्त प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक सुदूरपश्चिमकी जानकी भट्ट भए भने उत्कृष्ट बलर कोशी प्रदेशकी अलिशा खदिया र उत्कृष्ट ब्याटर सुदूरपश्चिमकी कप्तान बिन्दु रावल भए । फाइनलमा कोशीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा कप्तान बिन्दु रावलले ३८ रनको महत्वपूर्ण पारी खेले । उनले ४४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे । लक्ष्मी साउदले अविजित १२, सावित्री धामीले १२, कविता कुवँरले ११ र रुबि पोदारले ११ रन बनाए ।
बलिङतर्फ कोशी प्रदेशकी रुविना क्षेत्रीले २, सबनम राइ र सङ्गीता राइले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर ९२ रन बनाएको थियो । उसका लागि अप्सरी बेगमले सर्वाधिक ३२ रनको पारी खेले । उनले २ चौका र एक छक्का प्रहार गरे । कप्तान रुविना क्षेत्रीले १७ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमकी कविता जोशीले तीन तथा रितु कनौजिया र स्नेहा महराले समान २–२ विकेट लिए।
कविता प्लेयर अफ दि म्याच भए। खेलकुद विकास परिषद् बागमतीको आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ ।