काठमाडौं – वैदेशिक रोजगारीको लागि युरोपेली मुलुक पोर्चुगल र पोल्यान्ड पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका– ७ घर भई काठमाडौं गोगंबु बस्ने कृष्णबहादुर चन्द र धादिङ गंगाजमुना गाउँपालिका– १ घर भई ललितपुरको सैपु बस्ने एलिजर तामाङ रहेको प्रहरीले जनाएको छ ।
चन्दले आकर्षक तलबमा पोर्चुगल पठाइदिने भन्दै सुरेश लामिछानेलाई ठगी गरेको बताइएको छ । उनले पीडितसँग पोर्चुगलको प्रतिष्ठित कम्पनीमा काम लगाइदिने विश्वास दिलाई पटकपटक गरी ११ लाख ५० हजार रुपैयाँ लिएर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । चन्दलाई खोजतलासका क्रममा नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो ।
त्यसैगरी तामाङले पनि पोल्यान्ड पठाइदिने भन्दै एक लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनले सुरेश स्याङ्तानलाई पोल्यान्डमा आकर्षक तलबसहित प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएर ठगी गरेको बताइएको छ । उनलाई खोजी गर्ने क्रममा थापाथलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडितबाट रकम लिएर सम्पर्कविहीन भएका चन्द र तामाङलाई वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका उनीहरु दुबै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।