काठमाडौं– सरकारले घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीको लागि जान बन्देज लगाएका कारण झनै जोखिम बढाएको एक अध्ययनले देखाएको छ । सरकारले लगाएको बन्देजका कारण घरेलु कामदार अवैध तरिकाबाट रोजगारीको लागि गन्तव्य मुलुकमा गइरहेको र यसले झनै जोखिम बढाइरहेको ‘आप्रवासी महिला कामदार समूह’ (आमकास) नेपालको अध्ययनले देखाएको हो ।
आमकास नेपालले लामो समयदेखि वैदेशिक रोजगारीमा जाने घरेलु महिला कामदारमाथि लगाइएको बन्देज खुला गर्न माग गर्दै आएको छ । यसले वैदेशिक रोजगारमा जाने महिला कामदारलाई सचेतना अभिवृद्धि तथा अलपत्र अवस्थामा परेकाहरुको उद्धार लगायतका कार्यमा सहयोग गर्दै आएको छ ।
नेपाली महिला नेपालबाट विभिन्न बाटो हुँदै बिचौलियामार्फत गन्तव्य मुलुकमा जाने गरेको अध्ययनमा उल्लेख छ । अवैध प्रक्रियाबाट त्यहाँ पुग्ने घरेलु महिला कामदारको सुरक्षाको कुनै ग्यारेन्टी नहुने र आर्थिक तथा शारीरिक शोषण पर्ने गरेको बताइन्छ । यसरी अवैध रुपमा विदेश गएका र उच्च जोखिममा परेका सयौं घरेलु कामदार आमकास नेपालको सेल्टरमा आश्रय लिइरहेको पनि उल्लेख गरिएको छ ।
गत वर्ष सेल्टरमा १७२ जनाभन्दा बढीले अल्पकालिन रुपमा आश्रय लिएका थिए । उनीहरुलाई विभिन्न मुलुकबाट उद्धार गरीएको आमकास नेपालले जनाएको छ । उनीहरुमध्ये ७५ प्रतिशतको साथमा कुनै कागजात नभएको बताइएको छ । सेल्टरमा आएकामध्ये १४ जनालाई कुवेत, ओमन र युएइबाट उद्धार गरिएको थियो । यसरी सेल्टरमा रहेका ४० प्रतिशत बढी महिलालाई आकस्मिक स्वास्थ्य सेवा तथा कानुनी सेवा प्रदान गरिएको आमकास नेपालले जनाएको छ । अवैध तवरबाट बिचौलियामार्फत घरेलु कामदारको रुपमा गन्तव्य मुलुकमा जाने हुँदा त्यसबाट सिर्जित समस्या निराकरणमा राज्यले पहल गर्नुपर्नेमा जोड दिइएको छ ।
सरकारले लगाएको बन्देजका कारण घरेलु कामदारमाथि अझै जोखिम बढ्दै गएको आमकास नेपालकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले बताइन् । उनका अनुसार कानुनी रुपमा बन्देज भएपछि विभिन्न माध्यम प्रयोग गरी बिचौलियाले महिलालाई राम्रो आम्दानी हुने प्रलोभनमा पारी कुवेत, दुबई, ओमान, कतार, साउदी अरेबिया पु¥याउने गर्छन् । यसरी जाने महिलाहरु श्रम शोषणमा पर्ने, पारिश्रमिक नपाउने, मानव तस्करी तथा शारीरिक हिंसाको जोखिममा पर्ने गरेको उनको भनाई छ ।