देशका पर्यटकीय क्षेत्रमा ‘नाइट लाइफ’ आकर्षण बढ्दो छ । धरान, पोखराजस्ता सहरमा मध्यरातसम्मै पर्यटक रमाउने चलन यसअघि नै शुरु भएको भए पनि काठमाडौंमा केही डिस्कोथेकबाहेक अरु क्षेत्रमा सम्साँझै बन्द हुन्छन् । देशकै राजधानी काठमाडौंमा रात्रीकालिन समयमा सवारी साधन पाउन पनि मुश्किल हुने र सुरक्षा पाउन कठिन छ ।
अझ साँझ नपर्दै प्रहरी आफै पसल ब्न द गर्दै हिँड्ने प्रवृत्तिले अर्थतन्त्रमा गम्भीर असर पुगेको देखिएपछि सरकारले पर्यटकीय क्षेत्रलाई राति पनि खुल्ला राख्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउने भएको छ । जसकारण राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग अब राति पनि खुला हुने भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले ठमेलको भगवानबहाल क्षेत्रमा स्थानीय बसोबास गर्दै आइरहेका क्षेत्रबाहेक ठमेल र दरबारमार्ग राति पनि खुला गराउने जनाएको हो ।
यसले रोजगारीको बढोत्तरी हुनुका साथै अर्थतन्त्रसमेत चलायमान हुने निश्चित छ । जिल्ला प्रशासन कार्यालयले पनि पर्यटन व्यवसायीको कदमलाई साथ दिने भएको छ । ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुलाउन स्थानीय, प्रदेश र केन्द्र सरकारका सुरक्षा निकायसँग सहकार्य गरिसकेकाले ढुक्क भएर व्यापार व्यवसाय गर्न परिषद् र बोर्डले आग्रह गरेको छ ।ठमेलभित्र आठ हजार पाँच सय व्यवसायी र ६० हजार बढीले रोजगार पाएकोमा अब रात्रिकालीन समयको व्यवसायले यसमा वृद्धि हुनेछ । यतिमात्र हैन वैदेशिक पर्यटकले खर्च बढाउनुका साथै व्यवसायिक क्षेत्रमा आर्थिक आम्दानीसमेत बढी हुने देखिन्छ ।
सहरमात्र खुला गरेर पनि पर्यटकीय गतिविधि बढ्ने हैन । रातको समयमा सेवा दिने यातायात सेवा प्रदायकले गन्तव्यमा पुग्न दोब्बर शुल्क लिने गर्छन् । विकसित देशमा मध्यरातसम्मै सार्वजनिक सवारी चल्ने र साधारण शुल्क लिने गर्दा पर्यटक निर्धक्कले घुम्छन् । ठमेल, दरबारमार्गका पर्यटक सहरका अरु क्षेत्रका हुन्छन् । उनीहरुलाई गन्तव्यसम्म सुरक्षित पु¥याउने विकल्प पनि सरकारले निर्माण गर्नुपर्छ । नभए ठमेल दरबारमार्ग पुरानै अवस्थामा फर्कन सक्छ ।
अझ ठमेल क्षेत्र र दरबारमार्ग क्षेत्रका व्यवसायीले पर्यटकीय र आकर्षक क्षेत्रको विस्तार पनि गर्नुपर्छ । डिस्कोमा नाच्ने र दोहोरीमा गाउनेमात्र विषयले पर्यटक आकर्षण बढ्न सकिन्न । यसका लागि धरहरा क्षेत्र राति पनि खुल्ला गर्ने, रात्रिजीवनमा आकर्षक हुने प्रकाशजन्य रंगीचंगी पूर्वाधारहरु तयार गर्नुपर्छ । राति नारायणहिटी दरबार संग्रहालयलाई पनि खुल्ला राख्न सके यसले पर्यटकलाई थप आकर्षण गर्नेछ । यसैले रात्रीकालीन व्यवसाय सुरक्षित र आकार्षित पार्न सुरक्षा, यातायात र पूर्वाधारमा विशेष ध्यान दिन जरुरी छ ।