विक्रम संवत्अनुसारको नेपाली नयाँ वर्ष अर्थात् २०८१ सालको सुरुआत भइसकेको छ । नयाँ वर्षको आगमनसँगै बिदाइ गरिएको वर्ष २०८० को समीक्षा र नयाँ संकल्प गर्ने क्रम जारी छ । बितेको वर्षलाई फर्केर हेर्दा मुलुकको राजनीति उतारचडावपूर्ण नै रह्यो । मुलुकको आवश्यकता र जनताको अपेक्षाअनुसार राजनीतिमा स्थिर बन्न सकेन । संघदेखि प्रदेशसम्मै अस्थिर बन्यो राजनीति ।
संघमा गठबन्धन एक वर्षमै तीनपटक फेरियो । गठबन्धन फेरिनासाथ प्रदेशमा भूकम्प जाने क्रम रोकिएन । जुन वर्षान्तसम्म चलिरह्यो ।कोरोना भाइरसको विश्वव्यापी महामारीको संकटबाट थलिएको अर्थतन्त्रका केही क्षेत्रमा सुधार भए, जस्तोः पर्यटन । विदेशी पर्यटकको आगमन उत्साजनक हुँदा अर्थतन्त्रलाई चलायमान बनाउन केही हदसमम्म सहयोग गर्यो ।
यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीहरुले नेपालमा पठाउने रेमिट्यान्स उच्च बन्यो । जसले मुलुकको अर्थतन्त्रलाई धान्ने काम गर्यो । किनकि लक्ष्यअनुसार राजस्व संकलन गर्न सरकार असफल रह्यो । अर्कोतर्फ वैदेशिक सहायताको लक्ष्यमा पनि सरकार पुग्न सकेन । सरकारले गर्ने पुँजीगत खर्चको तथ्यांक निराशाजनक छ । निर्यात व्यापार खुम्चिएको छ । निजी क्षेत्रमा आत्मविश्वास बढाउन नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा तरलता थुप्रिएको छ ।
यद्यपि, अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक बन्दै गएका छन् । विदेशी मुद्रा सञ्चिति बढेको छ । अघिल्लो वर्ष घाटामा रहेको सोधनान्तर स्थिति र चालु खाता बचतमा रहेको छ । सुशासनतर्फ केही काम भएका छन् । विभिन्न भ्रष्टाचार तथा अनियमितता काण्डमा मुछिएका उच्च तहका नेताहरु पक्राउ परे । तर, अनियमितता र विसंगतिहरु अझै न्यूनीकरण हुन सकेको छैन ।
वर्ष २०८१ मा नेपालीहरुले समग्र क्षेत्रमा सुधारको अपेक्षा गरेका छन् । मुख्यगरी राजनीतिक स्थिरता, मुलुकको अर्थतन्त्रमा देखिएका संकटलाई हटाउँदै विकास र समृद्धिको मार्गमा मुलुकलाई अग्रसर गराउन यो वर्ष महत्वपूर्ण बन्ने आम अपेक्षा छ । निराशामा गुज्रिएका आमजनतालाई आशा जगाउने वर्ष बनाउन राजनीतिक नेतृत्व जिम्मेवार बन्नुपर्ने आजको आवश्यकता हो ।
बितेका वर्षमा गरेका गल्तीहरुलाई नदोहोर्याई देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नु राजनीतिक नेतृत्वको दायित्व हो । यो दायित्वबाट उनीहरु भाग्न मिल्दैन । किनकि जनताले विश्वास गरेर मत दिएका छन् । जनताको ठूलो संघर्ष, त्याग र बलिदानीबाट प्राप्त यो व्यवस्थालाई जोगाउँदै समृद्ध मुलुक निर्माणमा एकजुट बनेर अघि बढून् ।