काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादी पार्टीसँग रुष्ट बनेका छन् । आइतबार सुदूरपश्चिम प्रदेशको नेतृत्व दाबी गर्ने क्रममा एकीकृत समाजवादीले देखाएको व्यवहारप्रति सोमबार संसदीय दलको बैठकमा ओली रुष्ट सुनिएका हुन् ।
‘अराजनीतिक प्रवृत्ति बहुतै हावी भएको छ । हिजोमात्रै एस भन्ने पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने । कांग्रेसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरणलाई कमजोर बनाउने हो भने नागरिक उन्मुक्तिलाई पनि दिन सक्ने,’ ओलीले भने, ‘हिजोमात्र मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो । त्यसमा एस नामको पार्टीले अराजनीतिक काम गरिदियो ।’
एकीकृत समाजवादीले सुदूरपश्चिममा संघीय गठनबन्धनविपरीत कांग्रेससँग मोर्चा कसेर लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेको थियो । यता माओवादी केन्द्र र एमालेले भने नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाएका छन् ।
यही विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि ओली खनिएका हुन् । ‘जुन सही दिशामा राजनीति फर्किंदै थियो । त्यसमा आन्तरिक रुपमा विपक्षीहरुमा आशा पलाउने गरी जनतामा आशंका, निराशा पैदा हुने गरी कदम चाल्यो । आन्तरिक रुपमा त्यसका बोली व्यवहार र बार्गेनिङ त्यस्तो छँदै थियो,’ ओलीले भने, ‘हिजो बाहिर नै प्रकट भयो ।
यस समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन नगर्ने । कांग्रेस केन्द्रित समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन गर्ने । एस पार्टीको दक्षिणपन्थी चरित्र नांगो ढंगले प्रकट भयो । कम्युनिस्ट साइनबोर्ड राख्ने, अगाडि नेकपा राख्ने, कामचाहि दक्षिणपन्थीको पक्षमा गर्ने !’