काठमाडौं– विपक्षीको बहिस्कारकाबीच मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । मंगलबार यादवले विश्वासको मतका लागि प्रस्ताव पेस गर्न लाग्दा लफडा भएको थियो ।
दिउँसो सुरु भएको बैठकमा विवाद भएपछि झण्डै पाँच घन्टापछि ७ बजे सुरु भएको मधेस प्रदेशसभामा लफडा हुँदा कुर्सी, माइक र सिसिटिभी क्यामरा तोडफोड भएको थियो । तोडफोडमा परी चार लाख रुपैयाँ बराबरको क्षति भएको प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बताए ।
सदन सुरु भएलगत्तै जनमत पार्टीले पुनः अवरोध सिर्जना गरेको थियो । त्यसपछि १० मिनेटका लागि बैठक स्थगित गरियो । विश्वासको मत लिनका लागि सुरु भएको बैठकमा जनमत पार्टीले राजविराजको कृषि विश्वविद्यालयमा भएको घटनाका लागि छानबिन समिति गठनको माग गरेको थियो ।
पछि जनमत, कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश बैठक बहिस्कार गरेपछि मुख्यमन्त्रीको पक्षमा ६१ सांसदको मत प¥यो । १०७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई ५३ सांसद भए बहुमत पुग्छ । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई जसपा, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलका प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।