इलाम – मच्छिन्द्र फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको टुँडिखेलमा सोमबार भएको क्वाटरफाइनलमा गोर्खा ब्वाईज क्लब रूपन्देहीलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै मछिन्द्र अन्तिम चारमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र सफल भयो ।
टाइब्रेकरमा मच्छिन्द्रका रञ्जित धिमाल, वुद्ध चेम्जोङ, विमल घर्ति मगर, दिनेश राजवंशी र देवेन्द्र तामाङले गोल गरे । गोर्खाका फोडे फोफाना, कान्छा तामाङ र गौतम श्रेष्ठले गोल गरे । तर, हम्जातको प्रहार पोस्टमा लागेर फर्किदा गोर्खा क्वाटरफाइनलमै रोकिनु पर्याे । अब मच्छिन्द्रले सेमिफाइनलमा मानेभञ्ज्याङ एफसी दार्जिलिङसँग खेल्नेछ । झापा–११ लाई हराउँदै दार्जिलिङ अन्तिम चारमा पुगिसकेको छ ।
१० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रूपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख २५ हजार प्राप्त गर्ने छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६ ०६:११