काठमाडौं - नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘द रेड सुटकेस’ हेरेका छन् । मन्त्री अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा चलचित्रकर्मी असिम शाह र पार्टीका महामन्त्री मुकुल ढकालसँग चलचित्र हेरेका हुन् ।
यो चलचित्र देशको चार दर्जन भन्दा बढी चलचित्र घरमा प्रदर्शन भईरहेको छ । चलचित्र शुक्रबार भोलीबाट दोश्रो सातामा पनि प्रदर्शन हुने भएको छ । यो चलचित्रले रिलिजबाटै समाजका लब्ध प्रतिष्ठित दर्शकलाई हलसम्म डोर्याइरहेको छ । यसै क्रममा केही दिनअघि पूर्व प्रधानमन्त्री बाबुराम भट्राईले चलचित्र हेर्दै चलचित्रको कथ्य शैलीको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
मन्त्री अर्यालले चलचित्रको सुरुवात सुस्त रहे पनि सकिँदासम्म भावुक बनाएको बताए । चलचित्रले रातो सुटकेस बोकेर विदेश जाने दिनको अन्त्यका लागि क्रान्तिको सुरुवात गरेको प्रतिक्रिया मन्त्री अर्यालले दिएका छन् ।
‘चलचित्रमा मैले मुलतः दुइटा कुरा पाएँ । पहिलो त यसले वैदेशिक रोजगारीमा जाने हाम्रा युवाको नियतिको कथा प्रस्तुत गर्छ । दोस्रो चाहिँ यसले हाम्रो गाउँठाउँमा पारेको प्रभावलाई दुरुस्त उतारेको छ,’ उनले भने, ‘ संयोगवश म अहिले यो सबै हेर्ने जिम्मेवार मन्त्रालयको पनि नेतृत्वमा छु । चलचित्रले पहाडी बस्तीमा पुरुष नभएको अवस्थालाई जसरी प्रस्तुत गरेको छ । त्यो उत्कृष्ट छ ।’
उनले चलचित्रलाई एक शब्दमा अभिव्यक्त गर्दा चाहिँ यो क्रान्तिको सुरुवात गर्ने र सम्पूर्ण नीति निर्माणको तहमा बस्ने व्यक्तिले हेर्नुपर्ने चलचित्र बनेको बताए ।यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीमा महामन्त्री मुकुल ढकालले पनि चलचित्रले अनौठो शैलीमा देशको समस्यालाई अभिव्यक्त गरेको प्रतिक्रिया दिएका थिए ।
फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको चलचित्रले उत्कृष्ट समीक्षाहरु पाइरहेको छ । चलचित्रले पाएका दर्शक र समीक्षाबाट आफूहरु सन्तुष्ट रहेको निर्माता रामकृष्ण पोखरेलले बताएका छन् ।आइसफल प्रडक्सनका लागि शोभा थापा र रामकृष्ण पोखरेलको निर्माण रहेको फिल्मलाई फिडेल देवकोटाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।