काठमाडौं – विभागीय टिम नेपाल पुलिस क्लब समूह विजेता बन्दै छैंठौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालगञ्ज कर्भडहलमा सोमबार आयोजक टिम प्रदेश ५ लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस लगातार दुई जितसहित समूह विजेता बनेको हो । गत संस्करणको उपविजेता टिम पुलिसले आयोजकलाई २५–९, २५–१५ र २५–११ को सेटमा हरायो ।
जितसँगै समूह विजेता बनेको पुलिसले समूह ‘बी’ मा ६ अंक जोड्यो । पहिलो खेलमा पुलिसले न्यु डाईमण्डलाई हराएको थियो । यस समूहबाट ३ अंक जोडेको न्यु डाईमण्ड स्पोर्ट्स क्लब समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । दुई खेलमा पराजित प्रदेश–५ भने बाहिरिएको छ । यस खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । अब पुलिसले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । न्यु डाईमण्डले साविक विजेता एपीएफसँग खेल्नेछ ।
समूह ‘ए’ बाट एपीएफ समूह विजेता र आर्मी उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तृतीय हुने टिमले ५० हजार रूपैयाँ पाउनेछन् । यसैगरी, बिभिन्न विधागत उत्कृष्ट खेलाडी नगदसहित सम्मानित हुने आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६ ०६:१५