काठमाडाैं - रसुवाको केरुङ नाकामा आवतजावत पासको व्यवस्थापन सम्बन्धमा रुबी भ्याली गाउँपालिकाका कार्यपालिका टाेलीले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीलाई पत्र बुझाएको छ । धादिङ जिल्लाको रुवी भ्याली गाउँपालिका लगायत नेपालतर्फको केहि गाउँपालिका चीन स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिको केरुङ नाकामा व्यापारका लागि आवतजावत पासको व्यवस्थापन गरिदिने सम्बन्धमा रुबीभ्यालीका अध्यक्ष रामसिंङ तामाङले बिहीबार प्रधानमन्त्रीलाई पत्र बुझाएका हुन् ।
उक्त भेटमा रुबी भ्याली गाउँपालिकाको वर्तमान अवस्थाका बारेमा छलफल भएकाे रुबीभ्यालीका अध्यक्ष रामसिंङ तामाङले जानकारी दिए । विशेषत दुर्गम क्षेत्रमा रहेको रुबी भ्याली गापाको विकासमा विशेष चासो दिन ध्यानाकर्षण गराएकाे उनले बताए । धादिङबेशीबाट रुबी भ्याली हुँदै रसुवाको केरुङ नाका जाने सडकको स्तर उन्नतिमा विशेष ध्यान दिने र नाका पासको लागि पनि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्दता प्रधानमन्त्रीले व्यक्त गरेकाे उनकाे भनाई रहेकाे छ ।
उनले भने ,"रुबी भ्याली गाउँपालिकावासीलाई केरुङ नाकाना प्रवेश गर्न पासको अनुमति छैन। यस गाउँपालिकाबासीलाई पनि व्यवसायिक प्रयोजनार्थ साे नाकामा प्रवेश गर्न पास व्यवस्था गर्न सके व्यवसायिक र रोजगारको अवसर सिर्जना हुने भएकाले सो नाकामा प्रवेश पासको लागि आवश्यक पहल गरिदिन प्रधानमन्त्रीलाई पत्र पेश गरेकाे हाे ।"
तिब्बत सरकारले नेपालको सिमाना जोडिएको रुवी भ्याली गाउँ पालिका लगायतका केहि गाउँपालिकाहरुलाई एक एक स्काभेटर समेत उपलब्ध गराएको छ।