आज वैशाख ११ अर्थात् लोकतन्त्र दिवस । प्रजातन्त्रको पुनर्बहाली भएको दिन । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई नै फिर्ता भन्दै प्रजातन्त्र पुनर्बहाली गरेको खुसीयालीमा २०६४ देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
नेपाली कांग्रेस, नेकपा एमालेसहित सात दल र विद्रोही नेकपा माओवादीको संयुक्त आह्वानमा राजतन्त्र फाल्नका लागि आन्दोलन भइपछि ज्ञानेन्द्र आफ्नो निर्णयबाट ‘ब्याक’ भएका थिए । बहुदलीय प्रजातन्त्रलाई आफ्नो मुठीमा लिएका कारण जनता आन्दोलित भएका थिए ।
यसले गर्दा ज्ञानेन्द्र शाहले दरबार त त्याग्नुप¥यो, राजतन्त्र पनि सदाका लागि नेपालबाट बिदा भयो । त्यतिबेला लोकतन्त्र आउँदा जनता निकै खुसी थिए, तर अहिले जनता लोकतन्त्रबाट वाक्क हुन थालेका छन् । कारण नेताले यसलाई आफ्नो तन्त्र बनाउन थालेकोले । देश लगभग श्री ३ को शैलीमा चल्न थालेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई श्री ३ का रुपमा चिनिन्छ ।
तीन नेताले अहिले सुन्दर समावेशी सिद्धान्तको धज्जी उडाइरहेका छन् । आफ्नो आसेपासेलाई समावेशी कोटामा नियुक्त गर्ने काम गरिरहेका छन् । कांग्रेस सभापति देउवाले आफ्नै श्रीमती आरजु देउवालाई समानुपातिक सांसद बनाएका छन् । प्रधानमन्त्री दाहालले आफ्नै दाजु नाता पर्नेलाई राष्ट्रिय सभाको अध्यक्षमा सेटिङ गरेर निर्वाचित गराइसकेका छन् । एमाले अध्यक्ष ओलीले यसैगरी आफ्नो भाइभतिजालाई मालदार पदहरु बाँडिरहेका छन् । जनताले पाउनुपर्ने कोटाहरुमा उनीहरुको रजाइँ छ ।
संघीय लोकतन्त्रको अर्को सुन्दर पक्ष हो– प्रदेश । प्रदेश सरकार अहिले यिनै तिन नेताको कठपुतली बनेको छ । अनेकन प्रयास गरी प्रदेशलाई विक्षिप्त बनाउने काम यी नेताहरुले गरिसकेका छन् । संघीयता विरोधीलाई बल पुग्नेगरी तिनै नेताहरुले आफ्नै दलमा पनि यो आवाजलाई बुलन्द पार्ने ठाउँ बनाइदिएका छन् ।
तर द्वन्द्व सकिएको २० वर्ष पूरा हुन लाग्दा पनि सत्य निरुपणसम्बन्धी विधेयक टिआरसीको टुंगो लगाउन सकेको छैन । संघीयताका लागि महŒवपूर्ण मानिने कर्मचारीसम्बन्धी ऐन, प्रहरी ऐन सरकारले बनाउन सकेको छैन । संसद्मा सरकार बनाउने र गिराउने खेलबाहेक नेताहरुको अरू काम देखिन्न । लोकतन्त्र घोषणा भएको १८ वर्ष पुगेकै दिन बरु कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आइपुग्दै छन् अझ सरकारले पनि उनको भ्रमणमा सार्वजनिक बिदा नै घोषणा गरेको छ । कतारका राजालाई सम्मान दिँदै गर्दा नेताहरुले बेलैमा सोचोस्– लोकतन्त्रलाई लोकतन्त्र नै बनाउनुपर्छ, जोकतन्त्र हैन ।