काठमाडाैं -सरकार तथा कर्पोरेटहरूले खुला र निर्लज्ज ढंगमा नियम तोडेकाेमा मानवअधिकारको उल्लंघनलाई "सुपरचार्ज" गर्ने इन्टरनेसनल एम्नेस्टी इन्टरनेसनलले चेतावनी दिँदै एक प्रतिवेदन सार्वजनिक गरेकाे छ ।
काठमाडाैंमा एक कार्यक्रम गरी प्रतिवेदन सार्वजनिक गर्दै सरकार तथा कर्पोरेटहरूद्वारा खुला र निर्लज्ज ढंगमा भइरहेको नियम तोडाइको बीच अन्तर्राष्ट्रिय कानूनका लागि एउटा युगान्तकारी क्षण देखा पर्न सक्ने खतरामाथि एम्नेस्टी इन्टरनेसनलले सचेत गराएको छ।
एम्नेस्टी इन्टरनेसनलले १५५ देशहरूको मानबअधिकारको अवस्थाको मूल्याङ्कन सहितको आफ्नो वार्षिक प्रतिवेदन "द स्टेट अफ द बर्ड्स ह्युमन राइट्स'लाई आज सार्वजनिक गर्दै बढ्दो द्वन्द्व र अन्तर्राष्ट्रिय कानूनको लगभग झण्डै झण्डैको विफलताका कारण विश्वले एउटा डरलाग्दो परिणाम भोगिरहेको जनाएको छ।
एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले मानव अधिकारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वका विभिन्न ठाउँमा भइरहेका युद्ध, आर्टिफिसियल इन्टेलिजेन्स, एआईको प्रयोग, दुव्र्यवहारजस्ता कारणले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख भएको बताउनु भएको छ ।
सार्वजनिक प्रतिवेदनमा द्वन्द्वमा परेका नागरिकहरूले उच्चतम मूल्य चुकाइरहेकोमा शक्तिशाली सरकारहरूले मानवतालाई प्रभावकारी अन्तर्राष्ट्रिय कानून विनाको एउटा युगमा पुर्याइरहेका बताइएकाे छ। एम्नेस्टी इन्टरनेसनलको "द स्टेट अफ द वर्ड्स ह्युमन राइट्स्" प्रतिवेदनमा १५५ देशका प्रविष्टिहरू, पाँच क्षेत्रीय अवलोकन र एउटा विश्वव्यापी विश्लेषणका साथै संस्थाका महासचिव आग्नेस कालामारद्वारा उनको आफ्नै शब्दमा प्रस्तुत गरिएको मानवअधिकारको अवस्थाको सिंहावलोकनको प्राक्कथन रहेको छ।
द्रुत गतिमा परिवर्तन भइरहेको आर्टिफिसियल इन्टेलिजेन्सलाई आम निर्वाचनहरू हुँदै गरेको ऐतिहासिक वर्षमा नस्लवाद, विभेद र विभाजनको लागि उर्वर भूमि सिर्जना गर्न खुला छाडिएको छ। यी दुर्व्यवहारहरू विरुद्ध उभिदै र मानवअधिकार संरक्षण तथा हाम्रो साझा मानवताको सम्मानको माग गर्दै विश्वभरका मानिसहरू अभूतपूर्व संख्यामा परिचालित भएकाे सार्वजनिक प्रतिवेदनमा जनाइएकाे छ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा भइरहेको दूत प्रगतिसँगै कानूनको शासनको क्षयीकरणमा थप वृद्धि हुने सम्भावना रहेको र यदि एआईको विकासको तुलनामा नियमन पछाडि नै रहने क्रम जारी रहने हो भने यसले बिगटेकको प्रभुत्व सहित मानवअधिकारको उल्लङ्घनलाई "सुपरचार्ज" गर्ने जोखिम रहने एम्नेस्टी इन्टरनेसनलले चेतावनी दिएको छ।