धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको तेमाल जात्राको उत्पत्तिका कथा, सामाजिक परम्परा र नेपाल प्रवेशको मौखिक कथनका साथै प्राचीन बौद्ध तीर्थ नागर्जुन, नमोबुद्ध, स्वयम्भू र बौद्ध स्तूपसँग गाँसिएको भावनात्मक सम्बन्ध, महिमा र तिनको अभ्यास र सम्बन्धले तामाङ जाति काठमाडौं उपत्यकाको मूलबासी नै भएको संकेत गर्दछ । जसबाट नेपालका इतिहासकारहरुले अड्कल काटेका उपत्यकाको प्रथमबासी नाग जाति अरू कोही नभई कतै तामाङहरु त होइनन् ? भन्न सकिन्छ ।
महायानी सम्प्रदायको ञिङमापा शाखाका बौद्ध धर्मावलम्बी तामाङ जातिको संस्कृति अध्ययन गर्दा हरेक पूर्णिमाको दिन कुनै न कुनै चाडपर्व, जात्रा, उत्सव वा पूजा परेको पाइन्छ । यस्ता थुप्रै चाडपर्व, उत्सव वा पूजामध्ये तामाङ समुदायले परम्परागत रुपमा प्राचीनकालदेखि मनाउँदै आइरहेको एउटा प्रमुख पर्व हो तेमाल जात्रा ।यो दुईदिने जात्रा हो । चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूपबाट सुरु हुने तेमाल जात्रा भोलिपल्ट पूर्णिमाको दिन सूर्योदयसँगै स्वयम्भूमा पुनः आरम्भ भएर साँझपख आकाशमा पूर्णचन्द्र देखिएपछि समाप्त हुने प्राचीन परम्परा छ ।
बौद्ध स्तूप, नागार्जुन स्तूप, बालाजुको २२ धारा र स्वयम्भू चैत्यमा एकीकृत रुपमा तीर्थाटन र दीप प्रज्ज्वलित गरेर लाग्ने यस जात्राको नामाकरण ‘तेमाल जात्रा’ भनेर प्रचलनमा आएको छ । यसो हुनुमा काभ्रेपलाञ्चोकको दक्षिणपूर्वी भेग तेमाल भेगका तामाङहरुको यस जात्रामा हुने अत्यधिक सहभागितालाई नै लिन सकिन्छ । यसका साथै जात्राको नाम तेमाल रहनुको अन्य कारण पनि छन् । जसमा अन्य भेगको तुलनामा तेमाल भेगका तामाङहरु अरनिको राजमार्ग बन्नुभन्दा पहिला यस जात्रा मनाउन आउँदा म्हेदाङ अर्थात् सल्लाको खोटो बाल्दै रातभर हिँडेर आउने गर्दथे भनिन्छ ।
यसरी जात्रामा आउने तेमाले पुरुषहरु आफूले वर्षभरि कमाएको धन खर्च गर्दथे रे भने महिलाहरु जात्रामा आउँदा बाटो पर्ने बनेपा र भक्तपुरजस्ता प्राचीन सहरमा आफ्ना सुनका गरगहनामा पाइन हाल्दै आउँथे रे । जसका कारण यस जात्राप्रति तेमाले तामाङहरुको रौस, सद्भाव, लगाव नै देखेर होला, जात्रा हुने बौद्ध र स्वयम्भू क्षेत्रका तामाङ वा गैरतामाङहरुले यस जात्राको नाम तेमालका तामाङहरुको जात्रा रहेछ भनेर भन्दाभन्दै तेमाल जात्रा रहन गएको हो भनिन्छ । वास्तवमा चैत्र पूर्णिमाको दिन लाग्ने यस जात्राको नाम बौद्ध स्तूपमा लाग्दा बौद्ध जात्रा, नागर्जुन स्तूपमा लाग्दा नागर्जुन जात्रा, बालाजु २२ धारामा लाग्दा २२ धारा जात्रा र स्वयम्भू महास्तूपमा लाग्दा स्वयम्भू जात्रा हुनुपर्ने हो । तर तामाङहरुले नै समग्रमा यस जात्रालाई तेमाल जात्रा भनेर सम्बोधन गरेर गर्व गर्ने गर्दछन् ।
तेमालको इतिहास
काभ्रेपलाञ्चोकको दक्षिण पूर्वी भेगमा पर्दछ, तेमाल । उक्त ठाउँ तामाङहरुको धार्मिक, सांस्कृतिक र ऐतिहासिक थलो हो । धार्मिक दृष्टिकोणले हेर्दा तेमालमा भारतको उडिसाबाट नेपाल हुँदै तिब्बतमा बौद्ध धर्म स्थापना गर्न हिँडेका बखत गुरु पद्यसम्भवले केही समय तिमाल (याङ्वेल) मा बसेर तप गरेका थिए । सोही कारण गुरु पद्यमसम्भवले तेमालमा रहँदा बौद्ध धर्मको ज्ञानका नीधिहरु गुप्त रुपमा राखेका थिए । सोही कारण तेमाल क्षेत्रलाई ‘तेरमाल’ भनिन्थ्यो । वास्तवमा यही ‘तेरमाल’ शब्द नै अपभ्रंश भएर ‘तेमाल’ भएको हो भन्ने तेमाल क्षेत्रका तामाङहरुको भनाइ रहेको छ ।
स्कृतिक दृष्टिकोणले हेर्दा तेमाल मौलिक तामाङ संस्कृतिको उद्गमस्थलमात्र नभई तामाङ संस्कृतिको अभ्यास भएको थलो हो । जसका कारण नेपाल, भारतका साथै विश्वका जुनसुकै देशमा रहेका तामाङहरु आफ्नो तामाङ संस्कृति भूले तेमालमा सोध्न जानुपर्दछ भन्ने कहावत नै छ तामाङ समाजमा । ऐतिहासिक दृष्टिकोणले हेर्दा तेमाल भेग तामाङ जातिका अन्तिम राजा रेञ्जिनदोर्जे बलले राज्य सञ्चालन गरेको स्थल पनि हो । तेमाल वि.सं. १८१९ असोज २ गतेका दिन गोर्खा राज्यको बिस्तारको क्रममा गाभिनुपूर्व स्वतन्त्र राज्य रहेको थियो भन्ने इतिहास छ । जहाँ राजा रेञ्जिनदोर्जे बल नामक तामाङ राजाले स्वशासन चलाउँथे भन्ने तेमालका तामाङहरुको भनाइ रहेको छ ।
गोर्खाली सेनाले मकवानपुर राज्य सर गरेपछि पटक–पटक युद्ध गर्दासमेत तेमाल राज्यलाई कब्जामा लिन नसकेपछि गोर्खाका खस÷क्षेत्रीय सेनाले राजा रेञ्जिनलाई सुनकोशीको तिरमा मितेरी लगाई सन्धि सम्झौता गर्ने निहुँमा निशस्त्ररुपमा बोलाएर षड्यन्त्रपूर्वक मारेको बताइन्छ । गोर्खाली खस सेनाले षड्यन्त्र गर्न वार्ता गर्ने दिनभन्दा एक दिनअघि नै बगरमा हातहतियार लुकाएर राखेका थिए रे भनिन्छ । लामो वार्ता हँुदा पनि कुराकानी नमिलेपछि खस सेनाले बालुवामा लुकाएको हतियार झिकेर रेञ्जिनदोर्जेको टाउको काटेर वीभत्स रुपमा हत्या गरेर सुनकोशीमा फालिदिएका थिए । आफ्ना पतिको हत्याको खबर सुनेर रेञ्जिनकी जेठी धर्मरानी विह्वल भएर आउँदा पतिको टाउको नदीमा घुमिरहेको देखेर सोही ठाउँमा हाम फालेर आत्महत्या गरेकी थिइन् । जसलाई आज पनि रानीदह भन्ने गरिएको छ ।
माथि उल्लिखित यस मौखिक कथनरुपी घटनालाई नेपालको इतिहास लेखनका ऐतिहासिक सामग्रीहरुसँग भिडाएर हेर्दा गोर्खाका राजा पृथ्वीनारायण शाहका केही चिट्ठीपत्र, हस्तलिखित वंशावली र विद्धानहरुले लेखेका पृथ्वी गाथाहरुमा तेमालसम्बन्धी केही विवरणहरु पाइन्छ । जसमध्ये एउटा सामग्रीमा यस्तो विवरण लेखिएको छः
‘...तिमाल फत्ये गर्न मन्त्री वर्र्गसित सल्लाह गरे । सोही सल्लाह भोलिका दिनमा सर्दार दलजित् शाह, काजी वंशराज पाँडे, जीव शाह, रुद्र शाही, जेठा बूढा, रामकृष्ण कुँवर, प्रभृति नजिकी द्वार्या, उमराउ, थरघर, भला मानिससमेतको एक टुकडी फौज निर्माण गरेर बिदा गर्नुभयो । सोही लस्कर लिई भाइभारदारले तिमाल कोट हान्याको र तिमाल कोट हान्दा ३०० गिंड पर्या...।’ (भाषा वंशावली)
यसबाट पनि तेमालमा गोर्खाली सेना र तेमाले सेनाबीचमा ठूलो लडाइँ चलेको प्रस्ट हुन्छ । त्यस्तै अर्को एक पृथ्वीनारायण शाहले आफ्ना सेना नायक सरदार रामकृष्ण कुँवरलाई लेखेको पत्रमा उनका भाइ अमरसिंह कुँवरको मृत्यु भएको उल्लेख छ । जसमा यस्तो व्यहोरा लेखिएको छः
‘...किरात फत्ते गर्न तिम्रै भर परेको छु । काँलु पाँडे मारिँदा साह्रै दुःखी भएको थिएँ । यतिखेर मलाई तिम्रै बुद्धि र तरबारको भर रहेको छ । धुलिखेलमा जस्तै सिम्बुमा जग्गा दिन्छु । तिम्रो भाइ तिमालमा मारिएकामा म धेरै दुःखी छु ।...आश्रिवन वदि ५ रोज ४ संवत् १८२० .....’ (पृथ्वीपत्र संग्रह)
त्यसैगरी एउटा गोर्खाली वीर गाथामा तेमालको विषयमा यस्तो व्यहोरा उल्लेख गरिएको पाइन्छ । ‘...संवत् १८१९ आश्रिवनवदि... रोज ३ तिमालकोट अब्बल...’ (त्रिरत्न सौन्दर्य गाथा)
तेमाल राज्यको अध्ययन अनुसन्धानका सिलसिलामा गोर्खाका राजा पृथ्वीनारायणले रामकृष्ण कुँवरलगायतलाई तिमाल कब्जा गर्न थुप्रै चिट्ठीपत्रहरुका साथमा मकवानपुरका अन्तिम राजा दिगबन्धन सेनले दिएका ताम्रपत्र पनि भेटिएका छन् । जसको प्रकाशन र व्याख्या पछि बिस्तारै गरौंला । स्मरण रहोस्, माथि उल्लिखित र हालसम्म यस लेखकले अनुसन्धानको क्रममा प्राप्त ऐतिहासिक सामग्रीहरुमा तेमाल भनेर उल्लेख भएको पाइएको छैन । जताततै ऐतिहासिक सामग्रीमा तिमाल, कोट तिमाल भनेर उल्लेख गरिएका छन् ।
यस आलेखमा माथि उल्लेख गरिएका पत्रबाट पनि तेमाल–गोर्खा युद्धमा सरदार रामकृष्ण कुँवरसहित उनका दुई भाइ जयकृष्ण कुँवर र अमरसिंह कुँवर पनि संलग्न थिए । युद्धकै क्रममा रामकृष्ण कुँवरका प्रिय भाइ अमरसिंह कुँवर तेमाले तामाङ सेनाबाट वीभत्स रुपमा मारिएका थिए । आफ्ना प्रिय भाइ तेमाल युद्धमा मारिएको, तर लास भने तेमालमा नै रहेको र सद्गद गर्न पलाञ्चोकमा ल्याउन नसकिएकोले रामकृष्ण कुँवर चिन्तामा परेका थिए । जसका कारण तेमालका राजा रेञ्जिनलाई आफ्नो कब्जामा रहेको तेमाल ब्यासीका खेतहरु दिने र जसको बदलामा तेमालेहरुले गोर्खालीहरुलाई अमरसिंह कुँवरको लास बुझाउने सर्तमा सुनकोशी नदीको किनारमा विनाहातहतियार सन्धि सम्झौता गर्न तेमाले राजालाई वि.सं. १८१९ असोज २ गते बोलाइएका थिए ।
यसै क्रममा माथि भनिएझैँ गोर्खाली खस सेनाहरुले एक दिनअघि नै सुनकोशीको बगरमा हातहतियार लुकाएर राखेका थिए भने सोझा, इमान्दार एवं शान्तिप्रिय बौद्ध धर्मावलम्बी तेमालका तामाङ राजा रेञ्जिनदोर्जे आफ्ना तीन भाइ र केही सेनाका टुकडीका साथ विनाहातहतियार सुनकोशीको बगरमा आइपुगेका थिए । जहाँ दुवैपक्षबीच वार्ता भए पनि कुराकानी भने मिल्न नसकेपछि खस सेना रामकृष्ण कुँवरको निर्देशनमा र गोर्खाली सेनाले रेञ्जिनदोर्जे र उनका साथ आएका तामाङ सेनाहरुलाई बालुवामा लुकाएर राखेका हात हतियारमध्ये तरवारले टाउको काटेर हत्या गरी तेमाल राज्यमाथि कब्जा जमाएका थिए ।
राजा रेञ्जिनको नाममा दीप प्रज्ज्वलन गर्ने परम्परा
यसरी गोर्खाली सेनाको षड्यन्त्रमा मृत्युवरण गरेका तेमालका अन्तिम तामाङ राजा रेञ्जिनदोर्जेको मुक्तिका लागि उनका परिवार र तेमालवासी तामाङहरु वि.सं. १८१९ चैत्र पूर्णिमाको अघिल्लो दिन तेमाल नै रित्तो पारेर बौद्ध स्तूपमा भेला भएर दीप प्रज्ज्वलन गर्न सहभागी भएका थिए । चैत्र पूर्णिमाका दिन नागर्जुन पर्वतको चैत्य र स्वयम्भू महाचैत्यको स्वयं उत्पन्न ज्योतिमा राजा रेञ्जिनदोर्जेको अस्तुद्वारा तयार गरिएको दीप प्रज्ज्वलन र श्रद्धाञ्जली पूजा प्रकट गर्न तीर्थाटन गर्दै आइपुगेका थिए । भनिन्छ, आजभन्दा २६१ वर्षअघिको सोही भीडलाई देखेर बौद्ध र स्वयम्भू क्षेत्रका तामाङ र गैरतामाङहरुले यस जात्रालाई कसको जात्रा भनेर प्रश्न गर्दा तेमालका तामाङ जनताहरुको जात्रा भनेका थिए । तेमालेहरुको जात्रा भन्दाभन्दै अपभ्रंश भएर जात्राको नाम नै तेमाल जात्रा रहन गएको बताइन्छ ।
ऐतिहासिक सामग्रीमा तेमाल जात्रा
तेमाल जात्राको उत्पत्तिका सम्बन्धमा खोजीनिति गर्दा ठोस प्रमाणहरु पाउन नसकिए पनि बौद्ध धर्मग्रन्थ स्वयम्भू पुराणमा उल्लिखित कथा र तामाङ समाजमा मौखिकरुपमा अवशेषका रुपमा रहेका सामाजिक र ऐतिहासिक किंवदन्तीहरु मात्र पाइएका छन् ।
किंवदन्तीअनुसार काठमाडौं उपत्यका दहको रुपमा रहेको समयमा बन्धुमतिनगरबाट आएका विपश्वी बुद्धले जामाचो (नागर्जुन) को पर्वतको टुप्पोमा बसी तप गर्दा दहको अवलोकन गरी चैत्र पूर्णिमाको दिन कमलको फूलको वीज (हालको पुरानो गुह्वेश्वरी रहेको ठाउँ) रोपेको स्मरणार्थ यस जात्रा मनाएका कुरा प्रस्ट हुन्छ । पछि सो कमलको वीजबाट फुलेको कमलको फूलमा आश्विन शुक्ल पूर्णिमाको दिन स्वयम्भूको अलौकिक महाज्योति उत्पन्न भएको र कमलका फूलका पातहरुमा पञ्चबुद्ध उत्पन्न भएका कुरा उल्लेख छ ।
जसको दर्शन गर्न काठमाडौं उपत्यकामा विभिन्न कालमा अरुण नगरबाट शिखीबुद्ध, अनपम नगरबाट विश्वभू, क्षेमावतिबाट क्रकुच्छन्द, बनारसबाट कस्यपलगायतका बुद्ध विभिन्न दक्षिण भारतका देशदेशावरबाट र महाचीनको पञ्चशीर्ष पर्वतबाट बोधिसत्व महामुनी मञ्जुश्रीसँग अनेकौं शिष्यका साथ आएको पाइन्छ । सोहीमध्ये केही शिष्यहरु तामाङ जातिका पनि थिए ।
बोधिसत्व महामुनी मञ्जुश्रीले स्वयम्भू महाज्योतिको अवलोकन गरेपश्चात् नजिकै गएर ज्योतिको दर्शन गर्न सकिन्छ भनेर दहको पानी बाहिर पठाउने जुक्ति खोजे । जुक्ति दहको चारैतिरको पहाडबाट अवलोकन गरेपछि पत्ता लगाए । अनि उनले आफ्नो नेतृत्वमा शिष्यहरुमार्फत गोकर्ण, पशुपति र चौभारको पर्वत खड्गद्वारा काटेर उपत्यकाको पानी बाहिर पठाए । अनि स्वयम्भू महाज्योतिको दर्शन नजिकै गएर कात्र्तिक शुक्ल पूर्णिमाको दिनमा दीप प्रज्ज्वलित गरेका थिए ।
त्यसपछि उनी मञ्जुपत्तन नामक सहर निर्माण गरेर एक शिष्य धर्माकरलाई राजा बनाएर महाचीन फर्केका थिए । यसपछि क्षमावती देशबाट क्रकुच्छन्द बुद्ध, शोभावती देशबाट कनकमुनी बुद्ध र बनारसबाट कश्यप बुद्ध स्वयम्भू महाज्योतिको दर्शन गर्न आएका थिए । बनारसबाट आएका कश्यप बुद्धमार्फत गौड देशका राजा प्रचण्डदेवले स्वयम्भू महाचैत्यको ज्योतिको महिमा सुनेर उनी पनि नेपाल उपत्यका आएर स्वयम्भू ज्योतिको दर्शन गरेका थिए । स्वयम्भू महाचैत्यको ज्योतिलाई कसैले पनि बिटुल्याउन नसकोस् भनेर राजा प्रचण्डदेवले महाचैत्य बनाएर गर्भमा राखेका थिए । यसरी निर्माण भएको स्वयम्भू महाचैत्यको प्राणप्रतिष्ठा चैत्र पूर्णिमाको दिनमा भएको कारण स्वयम्भू महाज्योतिको दर्शन चैत्र पूर्णिमाको दिनमा गर्ने परम्परा नै बसेको हो भन्ने कथन रहेको छ ।
महाचीनबाट बोधिसत्व महामुनी मञ्जुश्रीका साथ नेपालमा प्रवेश गरेका तामाङ जातिले हालसम्म पनि स्वयम्भू स्तूपको निर्माण भएको खुसीयालीमा स्वयम्भूमा पुगेर दीप प्रज्ज्वलन गरेर महाज्योतिको स्मरण गर्ने परम्परालाई निरन्तरता दिएका छन् । त्यसैगरी पछि बनारसका कस्यप बुद्धको मृत्युपश्चात् उनको अस्तु राखेर निर्माण गरिएको बौद्ध स्तूपको निर्माण सम्पन्न भएपछिको सोही स्तूपको प्राण प्रतिष्ठा पूजा (ह्राप्ने पूजा) पनि चैत्र पूर्णिमाकै दिन भएको कारणबाट दुवै स्तूप अनि चैत्यलाई चैत्र पूर्णिमाकै दिन लागेको यस जात्रामा दीप प्रज्ज्वलन गर्ने परम्परा बसेको हुनसक्छ भन्ने मेरो अनुमान रहेको छ ।
यसरी हेर्दा प्राचीनकालमा काठमाडौं दहकै रुपमा रहेको समयबाट तेमाल जात्रा पहिचान आरम्भ भएको देखिन्छ । लिच्छविकालको प्ररम्भमा स्वयम्भू चैत्यको निर्माण र मध्यमा बौद्ध स्तूपको निर्माणपछि यस जात्राको लोकप्रियता व्यापक भएर तिब्बतको राजधानी ल्हासासम्म पुगेको देखिन्छ । मल्लकालमा शासकहरु हिन्दू भएकोले यस जात्राको लोकप्रियता सुसुप्त हुन पुगेको देखिन्छ । सेनकालमा भने तेमाल मकवानपुर राज्यअन्तर्गत रहेकाले यसको लोकप्रियता खुम्चिएको पाइन्छ । शाहकालमा तेमालका तामाङ राजाको गोर्खाली सेनाहरुले वीभत्स रुपमा हत्या भएपछि यस जात्राले जात्राको स्वरुप लिएको देखिन्छ । तत्पश्चात् यस जात्रा नेपालमा मात्र नभई नेपाल बाहिर रहेका तामाङहरुसम्म फैलिएको देखिन्छ ।
उपसंहार–निष्कर्ष
धार्मिक, सांस्कृतिक र ऐतिहासिक महŒव रहेको तेमाल जात्राको उत्पत्तिका कथा, सामाजिक परम्परा र नेपाल प्रवेशको मौखिक कथनका साथै प्राचीन बौद्ध तीर्थ नागर्जुन, नमोबुद्ध, स्वयम्भू र बौद्ध स्तूपसँग गाँसिएको भावनात्मक सम्बन्ध, महिमा र तिनको अभ्यास र सम्बन्धले तामाङ जाति काठमाडौं उपत्यकाको मूलबासी नै भएको संकेत गर्दछ । जसबाट नेपालका इतिहासकारहरुले अड्कल काटेका उपत्यकाको प्रथमबासी नाग जाति अरू कोही नभई कतै तामाङहरु त होइनन् ? भन्न सकिन्छ ।
साथै, काठमाडौं उपत्यका र यसका वरिपरिका पहाडी प्रदेशमा आवाद रहेका आदिवासी बौद्ध धर्मावलम्बी तामाङहरुले काठमाडौं उपत्यकामा विभिन्न कालखण्डमा विकास भएको बौद्ध धर्मको अभ्यास र यहाँका बौद्ध सम्पदासँग हार्दिक सम्बन्ध गाँसिरहेका पाइन्छ । उदाहरणको रुपमा पञ्चबुद्ध, मानवबुद्ध, सिद्धार्थ गौतमबुद्ध, लोकेश्वर, गुरु पद्यमसम्भव र नागर्जुनद्वारा प्रतिपादित महायानअन्तर्गत ञिङ्मापा, लामावाद, बज्रयान शून्ययानका दर्शनको प्रभाव तेमाल जात्रा मनाउँदै आएका तामाङ जातिको सामाजिक जीवनपद्धति र बौद्ध धर्मको परम्परागत अभ्यास गरेका कारण उनीहरुको जीवनमा शान्ति, मैत्री, करुणा र सद्भावरुपी गहनाहरुका गहिरो प्रभाव पारेको प्रस्ट रुपमा देखिन्छ भन्दा फरक पर्दैन ।
स्रोतः जात्राको अवलोकन, विभिन्न पत्रपत्रिका र पुस्तकमा प्रकाशित लेखहरु ।
(लेखक तामाङ संस्कृति र इतिहास लेखनमा संलग्न छन्)