काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको लागि हवाइ यात्रा गर्ने श्रमिकलाई खाना र पानीको अनिवार्य व्यवस्था गर्न आग्रह गर्दै सम्बन्धित निकाय तथा सरोकारवालालाई पत्राचार गरेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाइ भाडा तथा सुविधामा हवाइ टिकटमा नै खानाखाजा तथा पानी उपलब्ध गराउन आग्रह गर्दै उचित व्यवस्थापनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वैदेशिक रोजगार व्यवासयी संघ र नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभललाई पत्राचार गरेको हो ।
विभागले बुधबार नै हवाइ टिकटमा नै खानाखाजा तथा पानीको सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन पत्राचार गरिएको जनाएको छ । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने र उडान समय भन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने नियम भएका कारण लामो समयावधि भोकै हुने अवस्था आएको भन्दै हवाइ यात्राका क्रममा अनिवार्य खाना खुवाउने व्यवस्था मिलाउन सरोकारवालासँग छलफल गरेको थियो ।
घण्टौंको यात्रामा पनि श्रमिकले न्यूनतम खाना खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो आउन थालेपछि सम्बन्धित सरोकारवालालाई डाकेर छलफल गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरले बताए । ‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्को नै तिर्नुपर्ने अनि न्यूनतम खाना, खाजा तथा पानीको पनि नपाउँदा श्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ,’ उनले भने, ‘धेरै गुनासो आएपछि सबैलाई बोलाएर छलफल ग¥यौं र छलफलमा भएको निष्कर्षअनुसार सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेका हौं ।’
त्यस्तै, पछिल्लो समय म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्रअधिकार भित्र रहेको काम गर्न पनि विभागले सचेत गराएको छ ।