काठमाडौं - बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै सचेतामूलक विषय समावेश गर्न जरुरी रहेकामा सरोकारवालाले जोड दिएका छन् ।
गैरसरकारी सङ्स्था सिविनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाले लैंगिक हिंसा अन्त्य गर्न विद्यालय तहदेखि नै सचेतना अभिवृद्धि र पुरुषको सहयोगका विषय पाठ्यपुस्तकमा समावेश गरिनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैंगिक हिंसा निवारण शाखाका प्रमुख ममता विष्टले लैंगिक हिंसा अन्त्यमा भएका सरकारी पहल र प्रावधानका विषयमा प्रस्तुति दिँदै बालविवाह अन्त्यका लागि सबैको सहयोग जरूरी रहेको बताउनुभयो । उनले मन्त्रालयले गठन गरेको लैंगिक हिंसा अन्त्यका लागि पुरुष सञ्जाल र सञ्जाल सक्रिय बनाउन भइरहेका प्रयासबारे समेत जानकारी दिएका थिए ।
सिविन नेपालका प्रतिनिधि निरिजना भट्टले समाजमा व्याप्त लैंगिक हिंसासँग सम्बन्धित घटना न्यूनिकरणका लागि थप क्रियाशीलताको खाँचो औँल्याए । ‘बालिका दुलही होइनन्’ भन्ने अभियानका प्रमुखसमेत रहेका भट्टले भने,“समाजमा व्याप्त लैंगिक हिंसाका थुप्रै कारण छन्, त्यसको न्यूनीकरणका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ ।”
सिविन नेपालले सञ्चालन गर्दै आएको बाल हेल्पलाइन नेपाल मोरङ् १०९८ का संयोजक वासु अधिकारले मोरङको बुढीगङ्गा गाउँपालिकाको मुसहर समुदायमा बालबालिको भयावह अवस्था रहेको र त्यसविरुद्ध स्थानीय तहसँगको सहकार्यमा काम गर्दैआएको बताए ।
कार्यक्रममा लैंगिक हिँसा अन्त्यका लागि पुरुष सहभागितासम्बन्धी रणनीति २०७४ को प्रभावकारिता र आवश्यक परिमार्जन लगायतका विषयमा समेत छलफल भएको थियो । सहभागीले सरकारी रणनीतिमा अझै पनि लैंगिक अल्पसङ्ख्यकका विषय नसमेटिएका गुनासो गरे ।