काठमाडौं– बझाङ प्रदेशसभा–१ मा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । एमाले बझाङ अध्यक्षसमेत रहेको उनले कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतान्तरले पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालय बझाङले सोमबार दिउँसो भण्डारी निर्वाचित भएको घोषणा गरेको छ ।
अब दमनको जितसँगै सुदूरपश्चिम प्रदेश संसद्मा एमालेको सिट संख्या बढेको छ भने कांग्रेसको घटेको छ । यहाँ २०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले माओवादी र नेकपा एकीकृतसहितको गठबन्धनको सहयोगमा चुनाव जितेका थिए । तर, मन्त्री भएको केही महिनामै सवारी दुर्घटनामा परी उनको निधन भयो । कांग्रेसले पृथ्वीको क्षेत्रमा उनकै छोरा अभिषेकलाई उम्मेदवार बनाएको थियो । अन्ततः एमालेका भण्डारीले कांग्रेसको सिट खोसेका छन् ।
अन्तिम मत परिणामअनुसार एमालेका भण्डारीले ११ हजार ६१३ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका अभिषेकले ११ हजार ३४६ मत प्राप्त गरे । यसैगरी नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाको तीन हजार ९६७ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ५१३ मत प्राप्त गरेका छन् । यहाँ ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।
प्रदेश सांसद निर्वाचित भण्डारी २०५४ सालमा गाविस अध्यक्ष थिए । उनको जन्म जिल्लाकै छबिसपाथिभेरा गाउँपालिकामा भएको हो । राजनीतिक पृष्ठभूमिमा हुर्केका उनले २०४१ सालदेखि अनेरास्ववियुबाट राजनीति थालेका थिए । २०६९ सालमा भएको सातौं जिल्ला अधिवेशनबाट एमाले जिल्ला सचिव हुँदै हाल भण्डारी हाल बझाङ एमाले अध्यक्षको जिम्मेवारीमा छन् ।