ओइऽ बढो पूmर्ति लगाउँछस् हैन ! तेरा शक्ति हाम्ले पनि देख्याछम् । तेरो हैसियत के हो ? के गर्थिनस् भन्ने कुरा हाम्लाई था’नभाको हो र ? हेर्दै जान एक दिन हामीले पनि जान्या छम् के गर्नुपर्छ भनेर । अनि देख्लास् !बर्बराउँदै हिँडेको अर्ति काइँलोको पारा देखेर बेलुने अझ फुल्दै गयो । उसको फुलाइलाई कसले पो जित्न सक्थ्यो र ! कस्ता–कस्ता साँढेहरुले पनि बेलुनेलाई झुस्स पार्न सकेका हैनन् !
हुन त अर्ति काइँलो सत्य कुरा जस्तोसुकै ठाउँमा पनि गर्छ । बोल्नलाई उसलाई कसैले पनि रोक्न सक्दैन । नानीदेखि लागेको बानी के छुट्थ्यो र । कति भलाद्मीहरुले अर्ति काइँलोलाई नभनेका पनि होइनन् । ‘हेर अर्ति काइँलो, यसरी सबैको आँखी किन बन्छस्, तित्राको जस्तो बोली छाडिदे, भनेको कसैले सुन्नेवाला छैन क्यार ! ’
भलाद्मीहरु पनि कति भलाद्मी भने सरकारी नून खाका, बाहिरबाट हेर्दा हरिश्चन्द्र जस्ता तर व्यवहार भने पूरै दुर्योधनको मामाको जस्तो । त्यस्ता सरकारी नून खाका भलाद्मी देखिएकाहरुको पूरै नाडी छामिसकेको अर्ति काइँलोले ओठे जवाफ लगाइहाल्थ्यो । ‘हुती हुनुप¥यो श्रीमान्, शिव–पार्वतीका वरिपरि गणेश घुमेजस्तो कहाँ सजिलो छ र ? चुकेको मान्छे सधैं ढुकेर बस्ने हो’ तपाईंहरु श्रीमान्हरु त्यही दर्जाको हो । ‘मुखमा रामराम बगलीमा छुरा भनेजस्तो’ ।
भलाद्मी अनुहारका ती साँढेहरु पनि कम थेर ! यसो दायाँबायाँ हेर्न ठोकीहाल्ने । धुत्न पाएसम्म रित्तै बनाइदिने, भित्तैमा पु¥याइदिने ! पख्लास् ! देख्लास् ! भन्ने उनीहरुको त एउटा गण नै थियो । भलाद्मीहरुको गणहरुले जे भन्यो त्यही हुनुपर्दछ भन्ने मानसिकता थियो भने बेलुनेहरु पनि भलाद्मी गणहरुलाई पर्ख र हेरकै अवस्थामा थिए ।जसले सक्यो त्यसैले सिध्याउने ! भाले भिडन्तजस्तै अवस्थामा थिए । बेलुने र भलाद्मी गणहरु । त्यो कुरा त अर्ति काइँलोलाई पुरापुर थाहा थियो । बेलुनेहरु पनि कम थिए र ? अर्ति काइँलोलाई आफ्नो बनाउन खोजिरहेका थिए ।
भलाद्मी गणहरुलाई सुरिलो धागोमा कसेर बेलुनमा उडाइदिने ! हुन त जोसँग जे शक्ति त त्यही नै देखाउने हो । बेलुनेले बेलुनको शक्ति भलाद्मी गणले गणकै शक्ति । लामो समयदेखि सबै गुट–उपगुटमा नछरिएका पनि हैनन् । अर्कालाई पर्दा खुच्चिङ, अनि आफूलाई पर्दा आकाशै खसेजत्तिकै गर्ने । अनि भित्रभित्रै सक्काइदिने । तर अर्ति काइँलोलाई दुवैको यस्तो व्यवहार मन भने परेको थिएन । उसलाई मन परे पनि के मन नपरे पनि के । दुवैसँग उस्तै थियो अर्ति काइँलो । उसलाई लिनु पनि थिएन दिनु पनि थिएन । त्यसैले पनि होला देखेको कुरा फ्याट–फ्याट धस्काइदिहाल्थ्यो ! कहिलेकाहीँ त अर्ति काइलोलाई हप्काउनेदेखि छप्काउनेसम्मका मायालुहरु पनि भेटिए ।
हप्काउनेभन्दा छप्काउने माया गर्छु भन्ने धेरै भेटिसकेका अर्ति काइँलो कहाँ भ्यागुतोजस्तो ट्वारट्वार मात्र गर्ने हो र ? पाएदेखि ऊ पनि के कम सर्पले डसेजस्तै डसिनै दिन्थ्यो त । अर्ति काइँलोको आँट त्यत्तिकै कहाँ आको हो र ? सत्य कुरालाई सत्य नै हो भन्ने सक्ने । कहीँ कतै पनि अरूको अहित नगरेका कारण पनि अर्ति काँइलो तित्रो तर धेरैको प्यारो पनि थियो ।
समयले कहिले काँही कोल्टे पनि फेर्छ भन्छन् नि । हो त्यस्तै भएको छ अर्तिकाँइलोलाई पनि । बेलुनेहरु र भलाद्मी गणहरुसँगै मितेर लगाएको जस्तो भान गर्दै छन् । किनकि उनीहरुलाई आफ्नो स्वार्थपूर्ति गर्नु छ । त्यस्तै बेलुनेहरुलाई विस्तारै उडाएर कोही कसैलाई भित्तैमा पु¥याएर देखाउनु पनि छ भलाद्मी गणहरुलाई । लाग्छ यी दुवै एउटै जंगलका दुई शेरजस्ता । तर, दुवै भिजेको बिरालोभन्दा माथि पनि हुँदै होइनन् । ऊ देखि ऊ डराउने, ऊ देखि ऊ मात्र हो ।
डर नै डरले उडिरहेका । उड्ने र उडाउने उस्तैउस्तै जसको शक्ति उसको भक्ति भने जस्तै थियो । एक दिन बेलुने र भलाद्मी गणहरु वीच कसले कसलाई सिध्याउने भन्ने आन्तरिक होडबाजी नै चल्यो । अर्ति काइँलोले दुवैलाई सम्झायो । यो विनाअर्थको फोस्रो लडाइँमा बसेर समय र शक्तिको नाश किन गरिरहेको छौं ? यसको सट्टा साँच्चै नै मिलेर नयाँ परिवर्तनको रेखा कोर्ने प्रयत्न त गर । कम्तीमा सबले वा ऽ वा गरुन् !
अर्ति काँइलोको अर्ति किन सुन्ने ? आ–आफ्नो स्वार्थ अनुकूलका व्यक्ति प्रयोग गरेर डस्ने काममात्र गरिरहेका छन् । भलाद्मीगण र बेलुनेहरुको लफडाले टोल नै गन्हाउन थालिसकेको छ । कसैले पनि यिनीहरुलाई विश्वास नै नगर्ने ? यिनीहरु नि आफूबाहेक अरूलाई विश्वास गर्नै नचाहने । मैले गरेको ठीक अरूले गरेको बेठिक । दुनियाँमा यस्तो पनि कतै हुन्छ भने यही गाउँमा मात्र थियो । गाउँलेहरु यी दुई स्याल र हुँडारहरुका कारण आजित भइसकेका थिए । तर आजित भएका गाउँहरुलाई सही बाटोमा हिँड्न र सत्य गर्न र बोल्न अर्ति काइँलोले झकझक्याइरहन्थ्यो ।
अर्ति काइँलोले जति गरे पनि यिनीहरुले न देख्ने प्रयास गरे, न सुन्ने नै । सुन्न र देख्न नसक्नेलाई फलिफाफ त हुने कुरै भएन । यी दुईको यस्तो सम्बन्धले चारगाउँका १२ भाइ नाइकेहरु खुसी थिए । उनीहरु पनि मौका कुरेर बसिरहेको थिए । मौका आउनासाथ बेलुनेलाई पनि छुस्स काँडाले घोपिदिने र हावा फुस्काइदिने । भलाद्मी गणहरुलाई पनि खाको नून सबै ओकल्न लगाइदिने । एकदिन चारगाउँका १२ भाइ नाइकेहरुले योजना बनाइरहेको थिए । अब बुलेन जसरी पनि फुटाउनै पर्छ । १२ भाइ नाइके मध्ये एउटाले भन्यो, होइन कसरी सम्भावन छ र ? अर्कोले भन्यो कुनै चिन्तै लिन पर्दैन । बेलुने उडिरहेको बेला अलि परबाट छेस्काले घोचिदिने ! त्यसपछि त्यसको हर्कत र हैसियत एकै पटक थाहा हुन्छ । भलाद्मी गणलाई पनि खाको नूनमा अलिकति गुलियो मिसाइदिने, त्यसपछि तिनीहरुको पनि स्वाद फेरिन्छ र आफ्नो मुठ्ठीमा पार्न सकिन्छ ।
१२ भाइ नाइकेको योजना अर्ति काँइलाले छेवैमा बसेर चाल पाइसकेको थियो । उसले दुवैलाई संकेत पनि गरेको थियो । अर्ति काइँलोको संकेतलाई धेरैले बुझ्थे र त्यसका लागि विकल्प पनि खोज्थे । तर बेलुने र भलाद्मी गणहरुले भने त्यत्ति वास्ता गरेनन् । १२ भाइ नाइकेहरु आफ्नो योजनाअनुरुप डाँडामा बसेर बेलुनेहरु ढुकेरै बसे र छेक्कोले घोचि नै छाडे । अन्ततः बेलुनेहरु एकै निमेषमा चट भयो । भलाद्मी गणहरुले खाको नूनमा पनि १२ भाइ नाइके गुलियो र नुनिलो छम्केर लोभ्याइदिए । गाउँ नै आफ्नो कब्जा लिइछाडे । अनि उनीहरुले देख्लास् र पख्लास् भन्नेहरुलाई नै देखाइदिए !