काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवस ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मनाउने भएको छ ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त नारा सार्वजनिक गरेको हो । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरुले विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाउन सकिने बताइएको छ ।
यसैबीच मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या समाधानका लागि ‘श्रमाधान कल सेन्टर’ सञ्चालनमा ल्याइएको उल्लेख गरेको छ । श्रम तथा स्वरोजगारसम्बन्धी कुनै पनि समस्या, गुनासो वा जिज्ञासा भए श्रमाधान कल सेन्टरमा सम्पर्क गरी श्रमिकहरुलाई आवश्यक सहायता लिन पनि बोर्डले आग्रह गरेको छ ।