काठमाडौं– वैदेशिक रोजगार ठगी कसुरमा ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति युएईको दुबईबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको इन्टरपोल शाखाले अन्तर्राष्ट्रिय स्तरमा रेड नोटिस जारी गरी एनसिबी अबुधाबीको आवश्यक समन्वयमा बाँके खजुरा गाउँपालिका–६, सिमलघारी स्थायी घर भएका कमल विश्वकर्मालाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार ठगी कसुरमा विश्वकर्मासमेतको नाममा २०७९ असार १२ गते किटानी जाहेरी परेको भन्दै सन्तोष तामाङसहित १८ जना ठगिएको उल्लेख गरेको छ । विश्कर्माविरुद्ध जाहेरी दिने तामाङसहित १८ जनालाई वैदेशिक रोजगारीका लागि दुबईमा आर्मस् गार्ड र भिआइपी सेक्युरिटी गार्डको काम लगाइदिने भन्दै ८२ लाख ६५ हजार १९० रुपैयाँ लिएर छ जनालाई भिजिट भिसामा दुबई पु¥याइ अलपत्र पारेको विभागले जनाएको छ ।
दुबईमा गार्डको काम गर्दा मासिक तलब तीन हजार ५०० दिराम अर्थात् नेपाली एक लाख रुपैयाँसम्म कमाई हुने र त्यहाँ जानका लागि आठ लाख रुपैयाँ लाग्ने भनी विभिन्न किसिमको प्रलोभनमा पारी विश्वकर्माले रकम असुल्न सफल भएको विभागको विज्ञप्तिमा उल्लेख छ । छ जनालाई दुबई पठाई अलपत्र पारी अन्यलाई प्रक्रिया अघि बढ्दै छ भन्दै झुक्याएर रकम लिई फरार विश्कर्मासमेतलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि रेड नोटिस जारी गरिएको विभागले बताएको छ ।
दुबईमा पक्राउ परेका विश्वकर्मालाई नेपाल झिकाएर विभागमा दाखिला हुन आएको र निजलाई वैदेशिक रोजगार न्यायाधिकरणबाट यही वैशाख १३ गते सात दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको विभागले जनाएको छ । अनुसन्धानकै क्रममा विश्वकर्मालाई केशव आचार्यसमेतको जाहेरीले वैदेशिक रोजगार ठगी कसुरमा न्यायाधिकरणको गत कात्तिक २० गतेको फैसलाले सात वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना हुने ठहरी फैसलासमेत भएको खुल्न आएको विभागले उल्लेख गरेको छ । अन्य फरारहरुको हकमा भने खोजी कार्य जारी नै रहेको विभागले बताएको छ ।
बढ्दो ठगी र उजुरी
विभागले पछिल्लो समय वैदेशिक रोजगारीको नाममा ठगी र उजुरीको संख्या बढ्दै गएको जनाएको छ । वैदेशिक रोजगारीका लागि विशेषगरी क्यानडा तथा युरोपेली देशहरू पठाइदिने भन्दै ठगी गर्ने एवं विभिन्न ठाउँमा पु¥याएर अलपत्र पार्ने क्रम बढ्न थालेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । ‘अहिले युरोप, क्यानडा पठाइदिने भन्दै ठगी गर्नेको संख्या एकदमै बढेको पाइएको छ,’ उनले भने, ‘आफू ठगीमा परेको भन्दै उजुरी गर्नेको संख्या पनि उत्तिकै छ ।’ उजुरीको प्रकृतिअनुसार क्यानडासहित युरोपेली मुलुक पोर्चुगल, क्रोएसिया, पोल्यान्ड, माल्टा, रोमानियालगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गर्ने गरेको उनले बताए ।
यसरी ठगीमा परेका थुप्रै घटनाहरुमा विभागले कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिलाउने कार्य गर्दै आएको घिमिरेले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत्र)मा झण्डै एक हजार उजुरी परेका छन् । अधिकांश उजुरीमा संस्थागत (म्यानपावर)बाट भन्दा पनि व्यक्तिगत रूपमा विदेश पठाउने भन्दै ठगी भएको उल्लेख गरिएको विभागले जनाएको छ ।
०००००