काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित समस्याहरुको एकमुष्ट समाधान गर्ने उद्देश्यले ‘श्रमाधान योजना’ घोषणा गरेको छ । बुधबार १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबैखाले समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने गरी श्रमाधान योजना घोषणा गरेको हो ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले बृहत् रुपमा श्रमिकको समस्या समाधानदेखि जिज्ञासा, सुझाव तथा गुनासोलाई सम्बोधन गर्ने गरी योजना सञ्चालनमा ल्याइएको बताए । ‘मन्त्रालयले अहिले पनि कल सेन्टर सञ्चालन गरिरहेको छ, तर यसको काम सीमित भयो, त्यसैले बृहत रुपमा श्रमिकको समस्या समाधानका लागि यो योजना सञ्चालन गरिएको हो,’ उनले भने । अहिले विशेषगरी श्रमाधान योजना वैदेशिक रोजगारीमा गएकाहरुलाई मात्र केन्द्रित गरिएको जस्तो देखिए पनि स्वदेशका श्रमिकलाई पनि उत्तिकै सम्बोधन हुनेगरी योजना ल्याइएको मन्त्री अर्यालले बताए ।
उनले श्रमाधान योजनालाई सफल बनाउन इन्द्रेणीका सात रङलाई पछ्याएका छन् । जसमा श्रमाधानको पहिलो चरणमा सातवटा क्षेत्रहरुसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएको छ । इन्द्रेणीका सात रङहरुसँग मेल खाने गरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङसँग जोडिएको छ । ती रङहरुले प्रत्येक कार्यक्रमको उद्देश्य र महŒवलाई प्रतिविम्बित गर्ने मन्त्री अर्यालले बताए ।
रङहरुसँग जोड्दै श्रमाधान योजनाका बुँदाहरु उल्लेख गरिएको छ । जसमा पहिलो सेकेण्ड इनिङ्स, दोस्रो रोजगार बैंक, तेस्रो, समता, चौथो, ल (कानुन), पाँचौं कनेक्ट, छैटौं साथ, सातौं कल सेन्टर रहेका छन् । यी सातै बुँदालाई व्याख्या गर्दै मन्त्री अर्यालले क्रमशः श्रमिकका समस्या हल गर्दै जाने बताए । उनले आफूले ल्याएको योजना दीर्घकालीन र श्रमिकको हितमा रहेकाले यसको कार्यान्वयनका लागि आवश्यक स्रोत साधनमा कुनै कमी नहुने बताए ।
यस्तो छ मन्त्री अर्यालको सात बुँदे श्रमाधान योजना
सेकेण्ड इनिङ्सः ‘अवकाशपछिको आरम्भ’
श्रमाधान सेकेण्ड इनिङ्समा वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमै अवकाश प्राप्त नागरिकहरुको सीप, श्रम र अनुभवलाई पुनः सक्रिय बनाउन मद्दत गर्ने एक विशेष पहल हो । यस कार्यक्रमले सेवानिवृत व्यक्तिहरुलाई आफ्नो अनुभव र कौशललाई प्रयोग गरी नयाँ रोजगारी, स्वयंसेवा वा उद्यमशीलताका विभिन्न अवसरहरुमा संलग्न हुन सहयोग पुर्याउने छ ।
रोजगार बैंकः ‘पेसागत यात्राको सहयात्री’
श्रमाधान रोजगार बैंकको उद्देश्य रोजगारदाता र रोजगारी खोज्ने बीचका बहुआयामिक पक्षको समन्वयतात्मक सेतु बनी आन्तरिक र विश्व श्रमबजारमा नेपाली श्रमिकको सुव्यवस्थित, सबल र बृहत् प्रतिनिधित्व गर्दै रोजगारीका अवसरहरुलाई व्यापक बनाउनु हो । यस कार्यक्रमले श्रमिकहरुलाई श्रमबजारमा प्रतिस्पर्धी हुन आवश्यक कौशलको विकास तथा पेसागत उन्नतिका लागि चाहिने स्रोत र साधन प्रदान गर्छ ।
समताः ‘विविधताको एकता श्रममा समता’
श्रम क्षेत्रमा लैंगिक, भौगोलिक, वर्गीय, जातीय तथा अन्य कारणले मूलधारमा आउन नसकेको नागरिकहरुको पहिचान गर्दै श्रमको उच्च सम्मानको संस्कृति विकास गर्ने र श्रमको प्रक्रिया वा अन्य चरणमा व्यक्तिको व्यक्तिगत हक तथा अधिकार सुनिश्चित गर्दै समानताको प्रत्याभूति गर्ने उद्देश्य श्रमाधान समता कार्यक्रमको छ । यसले विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गरेर समानताको प्रत्याभूति दिने कुरालाई पनि समेट्छ ।
ल (कानुन)ः ‘श्रम सम्बन्धी कानुन सबैले जानुन’
श्रमाधान ल श्रमिकहरुलाई उनीहरुका कानुनी अधिकारहरु र कर्तव्यहरु बुझाएर श्रमको यात्रामा कानुनी रुपमा सुरक्षित बनाउने कार्यक्रम हो । यस कार्यक्रमले श्रमिकहरुलाई श्रम कानुनका विभिन्न पक्षहरुमा सुसूचित गराई भविष्यमा हुनसक्ने श्रम विवाद र यसका अदालती प्रक्रियाका लागि तयार गराउँछ । यो कार्यक्रम विशेषगरी श्रमिकहरुको कानुनी ज्ञानलाई बढाउने र कामको स्थानमा सामना गर्नुपर्ने चुनौतीहरुलाई सहजतापूर्वक समाधान गर्न मद्दत पुराउने ध्ययका साथ ल्याइएको हो ।
कनेक्टः ‘भोलिको तयारी, आजैबाट’
विश्व श्रमबजारको हरेक दिन बदलिँदो छ । यस परिस्थितिमा नेपालको श्रमिकलाई विश्व श्रमिक बजारमा प्रतिस्पर्धी बनाउनुको विकल्प छैन । ग्लोबल ट्रेन्ड र चेञ्जमा आधारित भएर श्रमको नयाँ विविधितासँग जोड्न श्रमाधान कनेक्ट कार्यक्रमको उद्देश्य हो । यो कार्यक्रम नेपालबाट विदेश जाने श्रमिक, विदेशमा काम गरिरहेका नेपाली श्रमिक र गैरआवसीय नेपालीहरुलाई एउटै धागोमा जोडेर नेपालीहरुको दक्षता र विज्ञता विकासमा आधारित हुने छ ।
साथः ‘हामी छौं’
श्रमाधान साथ देशभित्र र विदेशमा काम गर्ने श्रमिकहरु र उनीहरुका परिवारको मानसिक स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखी बनाइएको कार्यक्रम हो । यो कार्यक्रम तनाव व्यवस्थापन, मनोसामाजिक सहयोग र सांस्कृतिक समन्वय जस्ता श्रमिक र श्रमिकको परिवारको मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न केन्द्रित हुने छ ।
कल सेन्टरः ‘समस्याहरुको सम्बोधन तुरुन्तै’
श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरुको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुर्याएर समाधान गर्ने सुविधा हो । श्रमाधान कल सेन्टरबाट हप्ताको सात दिन र २४सै घण्टा सेवा उपलब्ध हुने छ ।