काठमाडाैं - बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आयोजना गरिएको एक महिने मूर्ति तालिम सम्पन्न भएको छ । बिहीबार नुब्री गुम्बा स्वयम्भूमा एक महिनासम्म भएको तालिमलाई समापन गरिएको हो ।
समापन समारोहलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होम दोङले यो तालिम प्रभावकारी भएको बताए । उनले भने,‘एक महिनाको आधारभूत तालिमले सबैथोक त सिक्न सक्दैन । तर तपाईँहरूको मेहनत देखेर खुसी छु ।’
उनले अबको आर्थिक वर्षमा तालिमलाई एडभान्स कोर्ष निर्माण गरिएको जानकारी दिए ।यस्तै समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले आधारभूत ज्ञान सीप पाएको बताए । उनले भने,‘एक महिनामा जे सिक्यो त्यही नै ठुलो कुरा हो । त्यसपछिका अरू सिक्ने भनेको थप्दै जाने हो ।’
उनले भने,‘पूर्ण मूर्ति बनाउन त धेरै सिक्नुपर्छ र समय पनि दिनुपर्छ । यो सिकेर रोजगारी सिर्जना गर्न सकिन्छ ।’उनले अहिले बजारमा थरी थरीका सामग्रीबाट मूर्तिहरू बन्दै आइरहेको पाइन्छ । तर परापूर्व कालदेखि सपु (माटो) बाट नै बनेको जानकारी दिए ।तालिममा नुवाकोट, रसुवा, दोलखा, गोरखा, सिन्धुपाल्चोक लगायतबाट गुम्बाका लामा गुरु र तालिममा इच्छुहरूको सहभागिता रहेका थिए ।
तालिमको प्रशिक्षक छेवाङ लामा र सोनाम लामा रहेका थिए । कार्यक्रममा समितिका योजना अधिकृत सन्जु योङ्ग्या, राष्ट्रिय महिला तथा बालबालिका परिषद्का सदस्य इन्दिरा योन्जन लगायत रहेका थिए । कार्यक्रमको सहजीकरण समितिका कर्मचारि श्रेया योन्जनले गरेकी थिइन् ।