काठमाडौं – रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली श्रमिकले अबदेखि पिसिआर परीक्षण गर्नु नपर्ने भएको छ । कोरिया सरकारबाट कोभिड–१९ (कोरोना)को महामारी सुरु भएसँगै आप्रवासी श्रमिकमाथि अनिवार्य गरिएको कोरोना परीक्षणको व्यवस्था हटाएको जानकारी प्राप्त भएको इपिएस कोरिया शाखाले जनाएको छ ।
कोरिया सरकारले इपिएसमार्फत जाने श्रमिकका लागि पिसिआर परीक्षण गराउनु नपर्ने जानकारी दिँदै औपचारिक रुपमा पत्र नै पठाएको इपिएस शाखाकी निर्देशक मैया कँडेलले बताइन् । ‘केही दिन अगाडिमात्रै पत्राचार गरेर पिसिआर परीक्षणको व्यवस्था हटाएको जानकारी प्राप्त भएको छ,’ उनले भनिन्, ‘अब सोही अनुरुप कोरिया जाने श्रमिकलाई तयारी गर्न आग्रह गर्छौं, सूचना निकाल्छौं ।’
यसअघि कोरोना परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएमात्रै नेपाली श्रमिक कोरिया जान पाउने व्यवस्था थियो । कोरोनाकै कारण अहिलेसम्म कोरियाले पिसिआर अनिवार्य गर्नुका साथै सीधा हवाई उडानमार्फत नेपाली श्रमिक लैजाँदै आएको थियो ।