राष्ट्रिय गौरवको आयोजनाको सूचीमा २२औं नम्बरमा परेको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ बुधबार ‘ब्रेक थ्रु’ भएसँगै चर्चामा छ । आयोजना यसकारण पनि चर्चामा छ कि लक्षित समयभन्दा पहिले नै सुरुङको ब्रेक थ्रु भयो ।
तामाकोशी र सुनकोशी मिसिने ठाउँभन्दा ७०० मिटर तल बाँध बाँधेर १३.३ किलोमिटर सुरुङमार्फत मरिणमा खसालेर बागमतीमा पुर्याउने यसको लक्ष्य हो । बागमती सिँचाइ आयोजनामार्फत धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको एक लाख २२ हेक्टर क्षेत्रफल सिञ्चित गर्ने यसको मूल लक्ष्य हो । राष्ट्रिय गौरवका आयोजना समयमै नसक्ने नेपाली रोग पुरानै हो ।
यद्यपि यो आयोजनाले भने समयअगावै सुरुङको ब्रेक थ्रु गर्यो ।केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अन्धाधुन्ध शिलान्यास भएकोमध्ये एक आयोजना पुष्पकमल दाहालको पालामा ब्रेक थ्रु हुँदा यसको चर्चा हुनु स्वाभाविक हो । तर, सुरुङको ब्रेक थ्रु निर्माण सम्पन्न हुनु होइन । सुरुङ बनिसकेपछि यसको परीक्षणमै वर्ष दिन बिताउनुपर्छ ।अझ यो आयोजनाका भौतिक प्रगति जम्मा २९.९३ प्रतिशतमात्र छ । यो भनेको आयोजनाको काम अझै धेरै बाँकी छ ।
आयोजनाअन्तर्गत सुनकोशी नदीमा हेडवक्र्स (ब्यारेज), विद्युत् गृह, सर्ज साफ्ट, स्वीचयार्ड निर्माण गर्नुपर्ने छ । इन्टेक, सेटलिङ बेसिन, पावर कल्भर्ट तथा अन्य आवश्यक संरचना पनि बनाउन निकै समय लाग्ने देखिन्छ । आयोजनाका कारण लोकमार्गसमेत डुबानमा पर्ने भएपछि त्यसलाई स्थानान्तरणसमेत आयोजनासँगै अगाडि बढाउनुपर्ने भएको छ । यो आयोजना २०८४ असोजसम्म सकाउने लक्ष्य सरकारको छ ।
चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ (कोभेक) ले सुरुङ निर्माणको काम गरिरहेको छ । कोभेकसँग सुरुङ खन्नका लागि १० अर्ब पाँच करोड ६८ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो । आयोजनाको कूल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
अनुभवी कम्पनी भएकै कारण यो आयोजनाले समयमै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर यति धेरै काम बाँकी नै भएकोले संयमित भएर काम गर्नुपर्ने देखिन्छ । यसका लागि सरकार, प्रदेश सरकार, स्थानीय सरकारले समन्वय गर्नुपर्ने देखिन्छ । प्रभावकारी व्यवस्थापनमा आयोजनाले ध्यान देओस् । आयोजनाको काममा अहिलेको गति नरोकियोस् ।