काठमाडौं - वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ ऋषिङ गाउँपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।
पक्राउमध्ये वकिल बहादुरले क्यानडा पठाईदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख रूपैयाँ ठगी गरेको र धर्मेन्द्रले युके पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वकिल बहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिका- ६ बाट र धर्मेन्द्रलाई काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।