विराटनगर – कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । बिहीबार मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीसँगै दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख पुरशुराम खापुङले गणेशप्रसाद उप्रेती र रामबहादुर मगरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । उप्रेती माओवादी केन्द्र र मगर एमालेबाट मन्त्री बनेका हुन् ।
यसअघि बिहीबार नै प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनी एमाले र माओवादी केन्द्रका ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
शपथ ग्रहणपछि उनले प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्ने बताए । प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकाले सबै दलसँगको सहकार्यमा अगाडि बढ्ने उनको भनाइ छ । मुख्यमन्त्री कार्कीले वर्तमान सरकार आगामी साढे तीन वर्षका लागि निर्माण भएकाले अहिले उठेका प्रश्नहरुको जवाफ दिनेगरी काम गर्ने बताए ।