काठमाडौंको नक्सालमा रहेको बालमन्दिरमा नेपाल बाल संगठनका पूर्वपदाधिकारीले जग्गा भाडामा लगाउँदा अनियमितता गरेको आरोप लागेको छ । एकै व्यक्ति लामो समय नेतृत्वमा बसेर शक्तिको आडमा करोडौं पर्ने जग्गा कौडीको भाउमा भाडामा लगाएको देखिन्छ । यस विषयमा आरोप लाग्दा पार्टीको आडमा सामसुमसमेत पार्न खोजिएको थियो । तर लेनदेन गर्नेबीचकै झगडाका कारण हिनामिना प्रकरण सतहमा आएपछि अख्तियार, अदालत र प्रहरीले यस विषयमा चासो राखेको पाइएको छ ।
बिहीबारमात्र बालमन्दिरको जग्गा कौडीको भाउमा भाडामा लगाएर पूर्वपदाधिकारीहरुले कमिसनको खेल खलेको भन्दै काठमाडौं जिल्ला अदालतले २० जनालाई पक्राउ गर्न आदेश जारी गरेको छ ।पक्राउ गर्न आदेश दिएको प्रमुख पात्र नेपाली राजनीतिका आदर्श पुरुष मानिने गणेशमान सिंहकी पुत्री रीता सिंह हुन् । राजनीतिक दबाबको आधारमा लामो समय नेतृत्वमा रहेर उनले बालमन्दिरको २८ रोपनी जग्गा निकै सस्तो दरमा भाडामा लगाएको खुलेको छ ।
सस्तोमा भाडामा लगाउने क्रममा कमिसनले खल्ती भरेको आरोप लागेको छ । सत्यता के हो ? अनुसन्धानपछि पत्ता लाग्ला । तर बालबालिकाका लागि राज्यले गरेको लगानीमाथि यसरी अधिपत्य जमाएर रजगज गर्नु निन्दनीय विषय हो । बालमन्दिर अभावमा रहेका बालबालिकाका लागि अवसर दिन खुलेको मन्दिर हो । तर बालमन्दिर बालबालिका बेचबिखनसम्मका आरोपसमेत लाग्ने गरेको छ ।
रीता २०४८ सालमा बालमन्दिरको अध्यक्ष बनेकी थिइन् । उनी २०७७ सालसम्म बाल संगठनमा निरन्तर अध्यक्ष रहिन् । उनी कांग्रेस नेता प्रकाशमान सिंहकी दिदीसमेत हुन् । २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको अरोप उनीमाथि छ ।
बाल संगठनको नाममा नक्सालमा ११९ रोपनी १२ आना तीन पैसा जग्गा छ । त्यसमध्ये २८ रोपनी पाँच आना एक पैसा जग्गा बाल संगठनले बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) लाई भाडामा दिने सम्झौता गरेको थियो । बृहस्पतिलाई जग्गा भाडामा दिन २०४९, २०५३, २०५८, २०५९ र २०७२ सालमा गरी पाँचपटकसम्म सम्झौता भएको थियो । जग्गा हिनामिना प्रकरणमा बृहस्पतिका सञ्चालहरुसमेत मुछिएका छन् । देशका बालबालिकाको हितमा खोलिएको संस्था ध्वस्त पार्ने पात्रहरुमाथि गहिरो र निष्पक्ष अनुसन्धान होस् ।