काठमाडौं - वैदेशिक रोजगारसम्बन्धी सचेतना फैलाउने उद्देश्यले सबैभन्दा बढी विदेश जाने जिल्लाका स्थानीय तहहरुमा जानकारीमूलक सन्देशसहित ‘डिजिटल बोर्ड’ राखिने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जानुपूर्व, विदेशमा रहँदा र नेपाल फर्किएपछि कामदारले थाहा पाउनुपर्ने सामग्री समावेश गरी सचेतना फैलाउन स्थानीय तहमा डिजिटल बोर्ड राख्न लागिएको जनाएको छ ।
विदेश जाने कामदारले थाहा पाउनुपर्ने सामग्री, प्राप्त हुने सेवा सुविधा, सम्पर्क गर्नुपर्ने निकाय लगायतको विवरण समेटिएको अनलाइन डिजिटल सूचना प्रसारण गर्न वैदेशिक रोजगारमा जाने जनसंख्या अधिक रहेका स्थानीय तह छनोट गरी डिजिटल बोर्ड जडान गर्ने तयारी भइरहेको बोर्डका शाखा अधिकृत हेमकुमार अधिकारीले बताए । उनका अनुसार डिजिटल बोर्डले चालु आर्थिक वर्षमा नै सञ्चालन हुनेगरी सहकार्य गर्न इच्छुक स्थानीय तहलाई आग्रहसहित सूचना जारी गरेको छ ।
बोर्डले डिजिटल बोर्ड नियमित संचालन गर्न सम्बन्धित स्थानीय तहको रोजगार संयोजकलाई ‘फोकल पर्सन’ तोकी निजबाट वार्षिक जानकारी लिने व्यवस्था गर्न र आफ्नो पालिका भवनको उपयुक्त स्थानमा निःशुल्क जडान गर्न पनि आग्रह गरेको छ । यसका लागि इच्छुक स्थानीय तहले १५ दिनभित्र पत्राचार गर्न सकिने बोर्डले जनाएको छ ।
डिजिटल बोर्ड जडानका लागि धनुषा, झापा, सिराह, मोरङ, महोत्तरी, सर्लाही, रुपन्देही, सुनसरी, सप्तरी, बारा, रौतहट र पर्सा जिल्लाका स्थानीय तहलाई प्राथमिकतामा राखिएको छ । उल्लिखित जिल्लाका कम्तीमा पाँच÷पाँच वटा स्थानीय तहले डिजिटल बोर्ड राख्न सक्ने बोर्डले जनाएको छ । त्यस्तै बाँके, दाङ, कपिलवस्तु, बागलुङ, रौतहट, स्याङ्जा र तनहुँ जिल्ला सदरमुकाममा पर्ने एक÷एक वटा स्थानीय तहले पनि डिजिटल बोर्ड राख्न सक्ने बताइएको छ ।