काठमाडौं - नेपाल बौद्ध शान्ति समाजको अध्यक्षमा पुनः पाल्साङबज्र वाइबा निर्वाचित भएका छन् । समाजको शनिबार स्वयम्भूमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले वाइबाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सम्मेलनले उपाध्यक्षमा चन्द्रबहादुर योञ्जन, रत्नकुमारी भोलन, दिलबहादुर गोले, ठिसुङ तेञ्जिङ लामा र खामसुङ घले तथा महासचिवमा मिनुकुमारी वाइबालाई चयन गरेको छ । यसैगरी सचिवमा ङावाङदामछ्योइ वाइबा र डिबी तितुङ तथा कोषाध्यक्षमा अञ्जना लामा निर्वाचित भएका छन् ।
सदस्यमा योगबहादुर लो, कुपारे तामाङ, झिल्के पाख्रिन, ठूलीमाया तामाङ, महारत्न लामा, हिरालाल तामाङ, रामसिं लोप्चन, सुरेन्द्र बहादुरमोक्तानलगायत निर्वाचित भएका छन् ।सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बुद्ध दर्शनको प्रवद्र्धन, सभ्य समाज निर्माण र सभ्यताको विकासमा बौद्ध शान्ति समाजको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
बुद्धको ज्ञान मानव समाजमा संस्थागत रुपमा प्रवद्र्धन गर्न आफ्नो साथ रहने उनले बताए । उनले पुरातत्त्व विभागमा सूचीकृत भएका तथा २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएका ऐतिहासिक गुम्बाहरुको पुनर्निर्माण कार्य प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।
पुनः अध्यक्ष निर्वाचित भएका वाइबाले मोलम, लामा पाठ तथा बुद्धको दर्शन सिकाउने, अध्यात्मिक ज्ञान र चेतनाको विकास गराउने उद्देश्यअनुसार संस्था क्रियाशील रहेको जानकारी दिए । संस्थाको हाल १९ जिल्लामा शाखा रहेको र देशभर विस्तार गर्ने अभियानमा रहेको उनले बताए ।