काठमाडौं– पार्टी फुटेपछि १२ सांसदबाट पाँच सांसदमा सीमित जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने भएको छ । आज बस्ने केन्द्रीय समितिको बैठकबाट यसको औपचारिक निर्णय गरिने पार्टीका उपमहासचिवसमेत रहेका सांसद प्रकाश अधिकारीले बताए । ‘सोमबार बिहान ११ बजे बस्ने केन्द्रीय समितिको बैठकले यसबारे निर्णय गर्नेछ,’ अधिकारीले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार दिउँसो बालुवाटारमा बोलाएर जसपा अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्रीबाट राजीनामा दिन सुझाएका थिए । गत वैशाख २४ गते उपेन्द्र अमेरिकामा छँदै अशोक राईको नेतृत्वमा नयाँ दल दर्ता भएको थियो । यो सँगै यादवको मन्त्री पद धरापमा परेको हो । अमेरिकाबाट फर्केपछि यादवले तत्काल सरकार नछाड्ने बताएका थिए ।
अशोक नेतृत्वको जसपालाई सरकारमा भित्र्याउने भएपछि यादवले आज राजीनामा दिने बताइएको छ । यो सँगै जसपाले मधेस प्रदेशको नेतृत्व पनि गुमाउने भएको छ । मधेसमा नेकपा एमाले र माओवादी केन्द्रले आइतबार नै सरकार छाडेको छ । मधेसमा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुखसमक्ष चार दलले दाबी पेस गर्ने भएका छन् । यहाँ एमाले सबैभन्दा ठूलो दल हो ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वमा नयाँ सरकार बनाउने टुंगो लागेको छ । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाबी पेस गरिने एमाले केन्द्रीय सदस्य सञ्जिव झाले जानकारी दिए । मधेस प्रदेशमा १०७ सांसद छन् । सरकार बनाउन मात्र ५४ सांसद आवश्यक पर्छ । तर सरकारको दाबी गर्न लागेका चार दलसँग ५५ सांसद छन् । अहिले जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् ।