कपिलवस्तु - कपिलवस्तु जिल्लाभित्रका मुस्लिम हजयात्रीहरुलाई पहिलाे पटक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार लक्ष्मीनगरमा नेपाल हज समितिका नवनियुक्त सदस्य राशिद मिर्जा वेगले जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढने, कपडा लगाउने र दान पुन्य गर्ने विषयमा प्रशिक्षण गराएका हुन् ।
मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मीनगरमा पहिलाे पटक आयाेजना गरेकाे हाे ।
साउदी अरबमा हजका क्रममा पुग्ने नेपाली हजयात्रीलाई खाने, बस्ने व्यवस्थापन गरिएको हज समितिका सदस्य राशिद मिर्जाले बताए । इस्लाम धर्ममा हज जिवनभरिमा एक पटक गर्नै पर्ने कार्य अन्तरगत पर्छ । हज जाँदा सो व्यक्तिले आफुँ माथि रहेको कर्जाको चुक्ता, गलतीको क्षमायाचना गरे हज पुरा हुने मुस्लिम आयोग नेपालका सदस्य तथा प्रवक्ता अरसद मिर्जाले बताए ।
मुस्लिम आयोगका सदस्य अरसद मिर्जाले नेपाल हज समितिले गरेको क्रियाकलापलाई आयोगले नियाल्दै आएकाले सबै हाजीहरुलाई सहज रुपमा साउदी अरब लैजाने र ल्याउने काम गर्न अनुरोध गरे ।
उनले भने ,'हज गरेपछि हाजी बच्चा झै पवित्र हुन्छ । पछि उसले धार्मिक क्रियाकलापलाई ईमान्दारिता पुर्वक निर्वाह गर्नुपर्ने कुरानमा उल्लेख गरिएको छ । हाजीले गलत काममा लाग्नु हुँदैन ।' गलत काममा लाग्ने हाजीको हज रद्द हुने विस्वास रहिआएकाे छ ।
उक्ता कार्यक्रममा शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाँउपालिकाका १६ जनालाई हज सम्वन्धि प्रशिक्षण दिएको आयाेजकले बताएको छ ।
आयाेजकका अनुसार अन्य पालिकाका हजयात्रीहरुलाई जिल्लाको तौलिहवामा कार्यक्रम आयोजना गरी प्रशिक्षण दिइने छ । यसवर्ष कपिलवस्तु जिल्लाबाट ८६ जनाले हज गर्न साउदी अरब जाने नेपाल हज समितिले जनाएको छ ।