काठमाडाैं - विगत दुई हप्तादेखि निरन्तर काठमाडौको रत्नपार्कमा अपाङ्गता भएका व्यक्तिहरुको धर्ना, अनसन तथा सडक आन्दोलन भइरहेकोमा आजको शान्तिपूर्ण सडक आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेकाे छ ।
पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ संग सम्बन्धित सामुदायिक सहायता सेवामा उल्लेख भएको व्यक्तिगत सहयोग ०८१ वैशाख १ मा लागू नगरेका भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलन संयोजक विकास थापा लगायत करिब दुई दर्जन अपाङ्गता भएका व्यक्तिहरु पक्राउ परेका छन् । धरपकडमा अपाङ्गता भएका ६जना व्यक्तिहरु घाइते भएकाे दिपक भण्डारीले बताएका छन् ।
नेपाल सरकार आफैले सहमति गरेको तर कार्यान्वयन नगरेको सन्दर्भमा कार्यान्वयनको माग गर्दै अनिश्चितकालिन अनसनमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको न्यायोचित माग तत्काल सम्बोधन गरी जीवन रक्षा गर्न, शान्तिपूर्ण सडक आन्दोलनका क्रममा पक्राउ परेका अपाङ्गता भएका व्यक्तिहरूलाई तत्काल रिहाइ गर्न र घाइतेहरुको स्वास्थ्योपचारको व्यवस्था गर्न नेपाली कांग्रेस नेपालले पनि एक प्रेस विज्ञप्ति जारी गरी सरकारसँग जोडदार माग गरेकाे छ ।