काठमाडौं - नेपालको सबैभन्दा ठूलो विदेशी लगानी भएको कम्पनी एनसेलले फाइभजी योजना डाटा 'सधै अन' घोषणा गरेकाे छ । काठमाडाैंकाे म्यारिट हाेटेलमा एक कार्यक्रमकाे आयाेजना गरी फाइभजी भिजनमा आधारित हुँदै आकर्षक डाटा 'सधै अन' योजना ल्याएको घोषणा गरेको हाे।
ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नु नपर्ने बताइएकाे छ । 'सधै अन' नाम रहेको यस योजनाको मुख्य औचित्य भनेको नेपाली ग्राहकहरूलाई आफ्नो व्यालेन्स सक्किने डर नगरी डाटा सधैं अन राख्न सकिने एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले बताएका छन् ।
"उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई 'सधै अन' अर्थात अनलाईन बस्न इन्टरनेट धेरै आवश्यक छ," एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले भने ।
नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकहरु सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्याउनु यो योजनाको अवधारणा रहेको एनसेलले बताएकाे छ। इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकहरुको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोग वापत व्यालेन्स कटाइदिई रहेको हुन्छ । यहि समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको एनसेलले बताएकाे छ। ग्राहकहरुका सुझावहरुलाई विषेश ध्यानमा राखेर डेटा प्याकहरुलाई सरल बनाउँदै पांच दर्जन बढि त्यस्ता डेटा प्याकहरुलाई २० वटामा झारेको पनि कम्पनिले बताएकाे छ ।
यो योजनाको अझ ठूलो उद्देश्य भनेको नेपाली ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको जनाइएकाे छ। "फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ। ६० वटा भन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आईसकेको छ । हामी चाहन्छौं भारतपछि नेपाल व्यावसायिक रुपमा फाइभजी संचालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस् । तर त्यसका लागि हामीले एउटा महत्वपूर्ण पहिलो कदम चाल्नुपर्छ, र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोवाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाईंको डेटा 'सधै अन' हुनुपर्छ," कायुमोभले भने ।
फाइभजी, द्रुत इन्टरनेट मात्र नभएर अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता भएकाे जसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटन लगायतका क्षेत्रहरुको विकासमा महत्वपूर्ण प्रभाव पार्न सक्ने कम्पनिले जनाएकाे छ । मोबाइल ब्रोडब्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औं स्थानमा छ। सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफल होस् भन्ने चाहना एनसेलले राखेको छ।