काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले मिडिया क्षेत्रको समग्र समस्या सम्बोधन गर्नेगरि आफूले पहल लिएको र त्यहीअनुसार बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मिडिया एलाईन्स नेपालको प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
सो क्रममा उनले नेपाली मिडिया जगतले कहिल्यै पनि कसैसँग सम्झौता नगरेको इतिहास स्मरण गराउँदै अहिलेपनि सशक्त भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गरे । ‘नेपाली मिडियाले कहिल्यैपनि कसैसँग सम्झौता गरेको छैन् । मिडियाको समग्र समस्या समाधानको लागि बजेटमा विशेष व्यवस्था गर्छु । म साथ दिन्छु । मिडियाले आफ्नो धर्म सही तवरले निर्वाह गरेको छ । कसैसँग सम्झौता नगर्नुहोस । म तपाईंहरुको साथमा छु, साथ दिन्छु ।’
मिडिया एलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकार पत्नीशोकमा भएको कारण संस्थाका महासचिव दिरेकलाल श्रेष्ठको नेतृत्वमा पुगेको टोलीसँग प्रधानमन्त्री दाहालले नेपाली मिडियाले लोकतन्त्र, प्रेस स्वतन्त्रता, राजनीतिक परिवर्तन, व्यवस्था र समृद्धिको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याएकोमा आगामी दिनमा पनि यस्तै भूमिकाको अपेक्षा राखेका छन् ।
मिडियाका समग्र समस्या समाधानको लागि आफूले आजैबाट पहल लिने भन्दै सञ्चारमन्त्रीसहित सरोकारवाला सबैलाई एक ठाउँमा राखेर अब आउने नयाँ बजेटमा मिडियाका समस्या समाधानको लागि विशेष व्यवस्था गरिने पनि प्रधानमन्त्री दाहालले विश्वास दिलाएका छन् ।