काठमाडौं - सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति ल्याउने भएको छ । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)सँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारको नीति तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्षको बजेट आउने र बजेटसँग मौद्रिक नीतिसँग सामञ्जस्य गराई निजी क्षेत्रलाई सँगसँगै लैजाने नीति लिने धारणा राखेका हन् ।
उनले भने, ‘नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबीच तालमेल गरेर सरकार अगाडि बढ्ने छ । यी सबै क्षेत्रमा निजी क्षेत्रले सहजरुपले लगानी गर्न सक्ने विषयमा मुख्य ध्यान दिइनेछ । अबका दिनमा निजी क्षेत्रका आकांक्षा पूरा गर्ने नीति बनाउने र नीतिगत स्थिरतामा जोड दिइनेछ ।’
उनले अटोमोबाइल्स र जलविद्युतसहित निजी क्षेत्रका थप केही कुरा भए लिखितरुपमा अर्थ मन्त्रालयमा टिपाउन आग्रह गर्दै आर्थिक शिथिलता हटाउने हिसाबले बजेट ल्याउनेगरी सरकार अगाडि बढेको जानकारी दिए । अर्थतन्त्र चलायमान गराउन र उद्योग व्यवसाय सञ्चालनको उपयुक्त वातावरण निर्माणमा सरकार गम्भीर रहेको सचिव मरासिनीको भनाइ छ ।
कार्यक्रममा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सूर्य थापाले आर्थिक क्षेत्रमा योगदान पु¥याउने विद्युत, अटोलगायत क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको र बजेट एवं मौद्रिक नीतिमार्फत सहजीकरण गरिने बताए ।