काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रलाई सहजीकरण गर्न विद्युतीय गाडीको उपयोगमा प्राधिकरण तयार भएकाे बताएका छन् ।
इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)सँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा विद्युत् उत्पादन एवं वितरणमा सहजीकरणमाप्राधिकरण तयार भएकाे बताएका हुन् ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय गाडीको उपयोग बढ्दै जाँदा हरित ऊर्जा उपयोगतर्फ ध्यान गएको भन्दै जलविद्युत पिपिए खोल्ने, पिपिए गरेका आयोजना सम्पन्न गर्ने र निजी क्षेत्रलाई सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताए । उनले विद्युत् उत्पादन एवं वितरणमा जग्गा र वनका लागि प्राधिकरणले लगानी गर्नुपर्दा लागत बढिरहेको भन्दै बजेटमार्फत यसको सहजीकरणमा लाग्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले देशलाई सबल बनाउन उद्योग क्षेत्रलाई बलियो बनाउने र उत्पादकत्व बढाउन निजी क्षेत्रलाई आर्थिक समृद्धिमा सँगै लैजाने हिसाबले सोह्रौं आवधिक योजनामा समेटिएको जानकारी दिए । अब सरकारले आफूले अनिवार्यरुपले गर्र्नुपर्ने जिम्मेवारीमात्रै पूरा गर्ने र बाँकी समृद्धिका क्षेत्रमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने धारणा डा. फुयाँलले राखे। कार्यक्रममा सांसद दीपक खड्काले बजेट कार्यान्वयनमा जोड दिंदै आफूहरु पनि त्यसमा सक्रिय रहने बताए ।