पछिल्ला दिनहरुमा प्रतिनिधि सभाको कामकारबाही सञ्चालन गर्दा सभामुख देवराज घिमिरे अपरिपक्व देखिन थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा सहकारी प्रकरणमा आफ्नो अडान कायम राख्दै अवरोध जारी राखेको लामो समय भयो । सभामुखले यसबारे कांग्रेससँग सहजीकरण गर्ने काम गर्न सक्थे । तर कांग्रेस झनै उत्तेजित हुने किसिमले सभामुखले आफ्नो प्रस्तुति दिन थालेका छन् ।
सभामुख सदनको नेता हुन् । तर सभामुख घिमिरेले सदनमा हप्काउने शैलीमा कार्यसूची अघि बढाउन प्रतिपक्षीहरु भड्किन थालेका छन् । बिहीबारको बैठकमा सभामुख घिमिरेले प्रतिपक्षीलाई पेलेरै राष्ट्रपतिको कार्यालयको पत्रहरु पढेर सुनाए । संसदीय अभ्यास हेर्ने हो भने प्रतिपक्षीको चर्को विरोधका बीच सभामुखले यसरी कामकारबाही अगाडि बढाउन हुन्न । तर सभामुख घिमिरेले भने संसदीय नैतिकताको वास्ता नै गरेनन् ।
यसअघि पनि सभामुख घिमिरे पटकपटक विवादमा तानिएका थिए । वैशाख २८ गते बजेट अधिवेशनको पहिलो दिन उनको प्रस्तुति देखेर सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसमेत रुष्ट बनेका थिए । सदनमा गृहमन्त्री रवि लामिछाने र कांग्रेसका एक नेतालाई बोल्न दिएपछि निरन्तर बहस हुने भनिएकोमा शुरुमै कार्यसूचीमा प्रवेश हुन खोज्दा त्यो दिनको सदन भाँडियो ।
सहकारीको रकम अपचलनबारेको मुद्दा पेचिलो बन्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलन गरेको आरोप कांग्रेसले उठाउँदै आएको छ । यसमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग कांग्रेसको छ । कांग्रेसको मागमा राप्रपा र सत्तारुढ दल एकीकृत समाजवादीको समेत साथ छ । सदनमा यो विवाद चर्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख घिमिरेले विषय मत्थर पार्न प्रयास जारी राखेका छन् ।
तर बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि आक्रोश पोखेपछि सदनको माहोल झनै बिग्रन पुग्यो । ओलीले अब कांग्रेसलाई बोल्न नदिइने र आफूले कांग्रेसका सबैको जन्मकुण्डली थाह भएको बताएका थिए । उक्त बोलीकै कारण प्रतिनिधि सभामा बिहीबार कांग्रेस आक्रोशित भएको बताइन्छ । यस्तो अवस्थामा उपसभामुखसमेत वेल घेराउ गर्न पुग्नु अर्को लज्जासपद विषय रह्यो ।
समग्रमा सदनमा अनुशासन सिकाउने र सदनकै नेता सभामुख र उपसभामुखको यस्तो क्रियकलाप इतिहासमै रेकर्ड राख्ने किसिमको देखियो । सदनमा यस्तो अपरिपक्वता देखाउने सभामुख र उपसभामुखलाई अबका संसदहरुले पाठका रुपमा हेर्नुपर्दछ । जनताको आवाज मुखरित गर्नुपर्ने ठाउँ हो । तर सभामुख आफैले मुठभेडको क्षेत्र बनाउने काममा मट्टितेल छर्कने काम गरिरहेका छन् ।