देशभर तापक्रम निरन्तर उकालो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम उक्लिसकेको छ । तापक्रम बढेसँगै तराई क्षेत्रको जनजीवन प्रभावित हुन पुगेको छ । गर्मीसँगै विभिन्न समस्या निम्तिने हुँदा यसबाट जोगिन सतर्कता अपनाउन जरुरी छ । महाशाखाकाका अनुसार वर्षा गराउने प्रणाली तत्काल नभएको हुँदा तापक्रम निरन्तर बढिरहेको हो । स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताइएको छ । अझै तापक्रम बढ्ने महाशाखाको पूर्वानुमान छ ।
यो वर्ष तापक्रम र वर्षा दुवै औसतभन्दा बढी हुने महाशाखाले जनाएको छ । तर, तत्काल वर्षा हुने देखिँदैन । जुनको १३ तारिख अर्थात् जेठ ३१ गतेदेखि नेपालमा मनसुन भित्रिने अनुमान गरिएको छ । जसकारण अझै करिब एक महिना गर्मीले थप प्रभावित पार्ने देखिन्छ । अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ । आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यसरी गर्मी बढिरहँदा तातो हावा (लू)ले स्वास्थ्यमा पु¥याउने जोखिमबाट बच्न विभिन्न उपाय अपनाउन जरुरी छ । तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहने, घरबाहिर नजाने, हलुका र सुतीका कपडा लगाउने, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक–पटक पानी तथा झोल पदार्थ पिउने गर्नुपर्दछ । तातो हावा तथा तातो लहर (लू)बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, वान्ता हुनसक्ने भएकाले लूबाट बच्न स्वास्थ्यविद्हरुको सुझाव छ । सर्वसाधारणलाई लू तथा गर्मीका अन्य जोखिमबाट जोगाउन स्थानीय तहहरुको सक्रियता आवश्यक देखिन्छ । गर्मीबाट बच्ने उपायहरुबारे प्रचारप्रसार एवं जनचेतना जगाउन स्थानीय सरकारको भूमिका महŒवपूर्ण हुनसक्छ । त्यसैले यसमा स्थानीय तहहरुले प्रभावकारी कदम चाल्नुपर्छ ।
बढ्दो गर्मीको मुख्य कारण जलवायु परिवर्तन हो । नेपाल जलवायु परिवर्तनबाट धेरै प्रभावित हुने मुलुकमध्येमा पर्छ । पछिल्ला वर्षहरुमा हामीले जलवायु परिवर्तनको प्रभाव अनुभव गर्दै आएका छौं । यसले दीर्घकालमा जोखिम बढाउँदै जाने प्रस्ट छ । जलवायु परिवर्तनमा नेपालको योगदान नरहे पनि यसको प्रभाव भोग्नुपरिरहेको छ । विकसित राष्ट्रहरुका कारण भोगिरहेको यो समस्याको क्षतिपूर्तिका लागि नेपालले माग गरिरहेको छ । तर, नेपालको आवाज दरिलो भइरहेको छैन । यसलाई अझ प्रभावकारी रुपमा विश्व मञ्चमा उठाउन जरुरी छ ।