काठमाडौं -भ्रामक समाचार सम्प्रेषण गरेकाे भन्दै भेटेरिनरी एशोसियसनले विज्ञप्ति जारी गरेको छ । सामाजिक सञ्जालमा ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यहिन समाचार सम्प्रेषण गरेकाे भन्दै सोमबार भेटेरिनरी एशोसियसनले विज्ञप्ति जारी गरेको हाे।
बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ । एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखापरेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हाे ।
केही व्यक्तिले वैज्ञानिक तथ्य र कारणबिना नै सामाजिक सञ्जालमा भ्रामक पोष्ट गरी जनमानसमा त्रास सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ । ‘बोइलर कुखुराको मासु सेवनबाट बजारमा हल्ला फैलिए जस्तो कुनै पनि रोग मानिसमा सर्दैन,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्ता नकारात्मक र गलत जानकारीमा विश्वास नगर्न पनि एनभिएले आग्रह गरेकाे छ ।भ्रामक र अवैज्ञानिक जानकारीलाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने काम तत्काल बन्द गर्न र गलत जानकारी प्रवाह गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न पनि एशोसिएशनले माग गरेको छ ।
एशोसियसनले नेपाल भेटेरिनरी एशोसियसनका महासचिव डा. केदार सुवेदी ९८५१०३४८४० लाई सम्पर्क गरी बुझन सकिने जनाएको छ ।