काठमाडाैं - नेपाली कांग्रेससहित विपक्षी दलहरूको वेल घेराउ र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् । सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा उपस्थित १५८ सांसदमध्ये १५७ सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन् ।प्रधानमन्त्री प्रचण्डलाई एमाले, माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा प्रमुख प्रतिपक्षी कांग्रेससहित विपक्षी दलहरू राप्रपा, जसपा नेपाल र लोसपाका सांसदहरूले भने वेल घेराउ गर्दै नाराबाजी गरिरहेका थिए । प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको मत विभाजन प्रक्रियामा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरू सहभागी भएनन् ।नेमकिपाका प्रेम सुवाल भने तटस्थ बसेका छन् ।
विपक्षी दलका सांसदहरूलाई मर्यादापालकको घेरामा राखेर विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले गरेको अवरोधको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेसले आफूले विश्वासको मत लिँदा विरोध गरेर गल्ती गरेको बताएका छन् ।
कांग्रेसको यो गतिविधि नेपालको इतिहासमा कलंक- प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले विगतमा आफूले कांग्रेसलाई पटक पटक साथ दिएको तर आज आफूविरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताए । उनले संविधानअनुसार विश्वासको मत लिन नदिएर कांग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गरेको आरोप लगाए ।
१० पुसमा २०७९ मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले २६ पुसमा पहिलोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला प्रधामन्त्री प्रचण्डले संसद बैठकमा उपस्थित २७० मध्ये २६८ सांसदको समर्थन पाएका थिए । त्यसपछि १५ फागुन २०७९ मा सत्ता गठबन्धनमा फेरबदल आएसँगै ६ चैतमा प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिएका थिए ।
दोस्रोपटक विश्वासको मत लिँदा बैठकमा उपस्थित २६२ मध्ये १७२ मत पाएका थिए । २१ फागुनमा फेरि कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपासहितको गठबन्धन बनेपछि तेस्रोपटक प्रधानमन्त्रीले ३० फागुनमा विश्वासको मत लिएका थिए । त्यतिबेला बैठकमा उपस्थितमध्ये १५७ सांसदले विश्वासको मत पाएका थिए ।