काठमाडौं - सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्ने संसदीय समितिको कार्यदिशा टुङ्गो लगाउन गठित कार्यदलमा दुवै पक्षबीच सहमतिको प्रयास जारी रहेको छ ।
सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको आजको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलले आ–आफ्ना धारणा राखे । उक्त विषयमा छलफल पश्चात सहमतिका लागि पुनः बस्ने गरी बैठक सकिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर दुवै सदनका बैठक अवरोध गर्दै आएको छ । यही जेठ ५ गते सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच संसदीय समिति गठन गर्ने सहमति भएको थियो ।
समितिको कार्यदेश टुङ्गो लगाउन कार्यदल गठन गरिएको हो । कार्यदलको आजको बैठकमा सबै पार्टीका तर्फबाट धारणा राखिएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । बैठक आज बेलुका वा भोलि बस्ने उनले बताए ।
कार्यदलमा कानुनमन्त्री पदम गिरी, नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की, एमालेका प्रमुख सचेतक बर्तौला, कांग्रेस सहमहामन्त्री परियार र राष्ट्रिय स्वतन्त्रत पार्टीका शिशिर खनाल हुन् ।