- जेठ १७ देखि ३० गतेसम्म मेला सञ्चालन गरिने
- प्रत्येक प्रदेशमा दुई दिनको मेला हुने
- जेठ १७ र १८ गते कोशीको विराटनगरबाट सुरु हुने
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अग्रसरतामा सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ । नेपाली नागरिकलाई रोजगारको बहुआयामिक गतिविधिसँग जोड्ने प्रयासस्वरुप सातै प्रदेशमा मेला आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुआतमात्रै भएको बताए । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी दिनमा जिल्ला, स्थानीय तह र वडासम्म पनि पु¥याउने बताए ।मेलामा रोजगारीको खोजी गरिरहेका व्यक्ति, रोजगारदाता, तालिमप्रदायक संस्था तथा वैदेशिक रोजगारसम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको उनले बताए । ‘मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने, अवसरको कसरी पहिचान गर्ने भन्ने विषयमा जानकारी पाउन सक्ने छन् । त्यस्तैगरी रोजगारीका लागि आवश्यक सीपको बारेमा पनि जानकारी गराइने छ,’ मन्त्री अर्यालले भने ।
मेला यही जेठ १७ देखि ३० गतेसम्म सातवटै प्रदेशमा सञ्चालन हुने मन्त्रालयले जनाएको छ । मेला हरेक प्रदेशमा दुई दिन चल्ने छ । नेपालको रोजगार परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिकरूपमा तयार गरिएको मेलाले रोजगार खोज्ने र रोजगारदाताहरूबीच मध्यस्थताको काम गर्ने मन्त्रालयको अपेक्षा छ । मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डलगायत विभिन्न खालका तालिमप्रदायक संस्थाहरुको पनि सहभागिता रहने छ । साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल गरिने मन्त्रालयको भनाइ छ ।
मेलामा स्टेक होल्डरको रुपमा रहेका सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघको स्टल रहने बताइएको छ ।मेला कोशी प्रदेशको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा जेठ १७ र १८ गते सञ्चालन हुने छ । यसैगरी मधेस प्रदेशको वीरगञ्जमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा जेठ २५ र २६ गते तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते मेला आयोजना गर्ने कार्यतालिका मन्त्रालयले सार्वजनिक गरेको छ । यता बागमती प्रदेशमा भने जेठ २९ र ३० गतेका लागि तय गरिएको छ । बागमतीको मेला ललितपुरमा सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।