काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाविस्थित नेपाली राजदूतावासले निकट भविष्यमै कामदार मागपत्र प्रमाणीकरणको कार्य अनलाइन प्रणालीमार्फत हुने जनाएको छ ।
दूतावासले एक सूचना जारी गर्दै मागपत्र प्रमाणीकरणको कार्य अनलाइनमार्फत हुने भएकाले सो प्रयोजनका लागि युएईमा रहेका रोजगारदाताहरुलाई यही जेठ ११ गतेदेखि युजर रजिस्ट्रेसन गराउन लागिएको उल्लेख गरेको छ ।
रोजगारदाताले युजर रजिस्ट्रेसन गरिसकेपछि दूतावासबाट छिटै नै युजर रजिस्ट्रेसन एक्टिभ गराई अनलाईन माग प्रमाणीकरण प्रक्रिया सुरु गरिने र त्यसको जानकारीका लागि सूचनासमेत प्रकाशन गर्ने दूतावासले जनाएको छ ।
मागपत्र प्रमाणीकरणमा हुने भौतिक उपस्थितिलाई अन्त्य गर्न सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन अनलाइन प्रणालीबाटै प्रमाणीकरण हुने गरी प्रक्रियाको सूरुवात गर्न लागिएको दूतावासले जनाएको छ