काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले १५ दिने ललितकला प्रदर्शनी गर्ने भएको छ । मंगलबारबाट ललितकलाको केन्द्रीय कार्यालय नक्सालमा हुन लागेको प्रदर्शनीमा सातै प्रदेशका कलाकारको कलाकृति समावेश रहेका छन् ।
‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ को तयारी अन्तिम चरणमा पुगेको नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका उपकुलपति एवम् प्रदर्शनी संयोजक लालकाजी लामाले बताए । उनका अनुसार यसपटक सात प्रदेशका ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा रहेका छन् ।
गणतन्त्र दिवसका अवसरमा गर्न लागिएको कला प्रदर्शनीको पर्यटन मन्त्री हितबहादुर तामाङले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । प्रदर्शनी १५ दिनसम्म चल्ने प्रदर्शनीका संयोजक लामाले बताए ।
यस अवसरमा ७० भन्दा बढी कलाकारलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिने उनले बताए । यसपटक सहिदका साथै विद्यार्थीको विधासमेत समेटेर पुरस्कार तथा सम्मान थप गरिएको पनि लामाले बताए । संयोजक लामाका अनुसार सात प्रदेशबाट छनोट भएर आएका कलाकृतिलाई निर्णायकबाट छनोट गरी प्रदर्शनमा राखिने छन् । 'पहिले केन्द्रमा प्रदर्शनी गर्दा ६० प्रतिशत कलाहरु वाग्मती प्रदेशका हुन्थे तर यसवर्ष सात प्रदेशबाटै कला समेटिएका छन् । विकट र दुर्गमका कलाकृतिले समेत स्थान पाउनेछ,' लामाले भने ।
प्रदर्शनीमा चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा पुरस्कार प्रदान गरिने उनले बताए । लामाका अनुसार सिर्जनात्मक कलामा फोटोग्राफी, कार्टुन, क्यारिकेचर, इन्स्टलेसन, परफर्मेन्सलगायत विधाहरु रहेका छन् । यसभित्र रहेर हरेक प्रदेशमा दुईवटा पुरस्कार राखिएको छ । सबै विधालाई समेटेर हरेक प्रदेशमा दुई वटा पुरस्कार दिइनेछ ।
‘सामाजिक रुपान्तरण ललितकलाको अभियान’ भन्ने नाराका साथ आयोजना हुने प्रदर्शनीका लागि लागि मुल समिति र अन्य छ वटा उपसमिति गठन गरी तयारी भइरहेका प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले छनोट भएर आएकाले यसपापटकको प्रदर्शनी उत्कृष्ट रहने बताए ।