बालेन्द्र साह बालेन काठमाडौं महानगरका मेयर हुन् । काठमाडौंका मेयरलाई देशभरकै स्थानीय तहमध्ये शक्तिशाली नगरको प्रमुख मानिन्छ । बालेन स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन् । त्यसैले उनलाई कुनै निर्णय गर्न पार्टीको आदेश पर्खनुपर्दैन । उनी यस सन्दर्भमा स्वछन्द छन् ।
तर आफू चर्चामा आउन बेलाबेला उनी ‘स्टन्ट’ अर्थात् लोकरिझ्याइँको फेरो समात्छन् । शनिबार त्यस्तै भयो । उनले बिदाको मौका पारी कर्मचारी नभएको बेला सडक विभागका दुई कार्यालयको गेटै अगाडि फोहोर खन्याए, ट्रकबाटै । उनले आफ्नो एक्सन सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरे ।
उनको कदम हुरीझैं फैलियो, उनका लागि प्रशस्तै प्रशंसा आउन थाले । कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ निर्माणमा भइरहेको ढिलाइलाई उनले मुख्य मुद्दा बनाएको दाबी गरिएको थियो । हुन पनि उक्त चक्रपथ बन्ने मिति घर्केर १२ वर्ष पुग्दासमेत बनेको छैन । धुलो र हिलो राजधानीवासी सहेकै छन् । यो सडक नबने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको घरमै दैनिक एक ट्रक धुलो उपहार पठाउने चेतावनीसमेत प्रमुख साहले दिए ।
यति भनेपछि वर्तमान राजनीतिबाट फ्रस्टु जनतालाई के चाहियो ! उनले छिनमै वाहवाही बटुले । तर मेयर बालेनका झूठ केहीबेरमै उघ्रियो जब सडक विभागले विज्ञप्ति नै जारी ग¥यो । खासमा न्युरोड क्षेत्रमा सडक विभागको अनुमतिविना सडक काटेपछि परेको लफडा उनले धुलो खसालेर पोखेका रहेछन् । न्युरोड क्षेत्रमा मेयर बालेनले फुटपाथ बढाउन खोजेका रहेछन् । सडक विभागले अनुमतिका लागि मन्त्रिपरिषद्कै निर्णय चाहिने जानकारी गराए पनि बालेनले भने सडक काट्न थालिसके छन् ।
शनिबार दिउँसो सडक विभागले बालेनको कदममा रोक लगाएपछि उनी धुलो लिएर सडक विभाग पुगेका रहेछन् । एकतिरको रिस पोख्न बालेन अर्को अस्त्र प्रयोग गरेको कतिपयलाई ठीक लाग्ला । तर जिम्मेवार नगरप्रमुखले समन्वय नगरी मनलाग्दी पारामा यस्तो गर्नु विल्कुलै गलत कदम हो । सरकार प्रमुखले पहिले त नीति फेरबदल गर्ने काममा लाग्नुपर्छ । त्यतिले नपुगे उक्त क्षेत्रका जनताको राय लिएर सम्बन्धित निकायमा पहल गर्नुपर्छ । हातमा शक्ति भए भन्दैमा जे पनि गर्दा पुरानै राजनीतिक दलको कित्तामा पुग्न बेर छैन ।
किनकि अहिले राजनीतिमा बालेनप्रति धेरैले नयाँ पुस्ताका एक जोशिला र विश्वासिला पात्रका रुपमा अघि सारेका छन् । तर उनी बेलाबेला अराजक खालका गतिविधिमा पनि संलग्न हुन्छन् । जसका कारण उनी पनि जुन जोगी आए पनि कानै चिरेका भनेझैं हुने त होइन भनेर कतिपय सशंकित हुन थालेका छन् ।