काठमाडौं– श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले विशेष महŒवकासाथ आयोजना गर्न लागेको ‘श्रमाधान रोजगार मेला–२०८१’को तयारी पूरा भएको जानकारी दिएको छ । मन्त्रालयले नेपाली नागरिकलाई वैदेशिक रोजगारीको अलावा स्वदेशमा नै रोजगार तथा स्वरोजगारीको अवसरलाई पहुँचयोग्य बनाउन यही जेठ १७ देखि ३० गतेसम्म श्रमाधान रोजगार मेला सञ्चालन गर्दै छ ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनुका साथै मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न सातवटै प्रदेशका विभिन्न स्थानमा रोजगार मेला सञ्चालन हुने जानकारी दिएको छ । आन्तरिक रोजगारीको अवसरलाईसमेत पहुँचयोग्य बनाई विद्यमान श्रम शक्तिको अधिकतम उपयोग गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा रोजगार मेला आयोजना गरिएको मन्त्रालयको भनाइ छ ।
रोजगारीको खोजीमा रहेका युवाहरुलाई स्वदेशमा नै रोजगारी प्राप्त गर्न सहज र सरल तवरले पहुँचयोग्य बनाउने उद्देश्यनुरुप आयोजना गर्न लागिएको मेलाले रोजगारीको खोजीमा रहेका विविध क्षेत्रका युवाहरुलाई रोजगारदातासँग जोड्न सहयोग पु¥याउने मन्त्रालयले विश्वास लिएको छ । यद्यपि मेलाबाट उद्यमशीलता तथा स्वरोजगारका कैयन् अवसरका बारेमा ज्ञान आर्जन गर्न, रोजगारी खोज्नेहरुबीच नवप्रवर्तन र स्वव्यवसाय विकासलाई प्रवद्र्धन गर्न महŒवपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ ।
संघ, प्रदेश र स्थानीय तह तथा विभिन्न निजी रोजगारदाताहरुको समन्वय र सहकार्यमा सञ्चालन हुने मेलामा कार्यशाला, मनोपरामर्शलगायतका विविध विषय एवं सरकारी, निजी, गैरसरकारी क्षेत्रका विभिन्न निकायहरुको बुथ (स्टल)हरु रहने बताइएको छ । जसमा श्रम मन्त्रालय र मातहतका सबै निकाय, विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने छ । सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघलगायतले मेलामा स्टल राख्ने मन्त्रालयले जनाएको छ ।
आन्तरिक रोजगारी प्रवद्र्धनका लागि श्रम मन्त्रालयले सञ्चालन गर्न लागेको मेलामा अनलाइनमार्फत पनि सहभागी हुनसक्ने व्यवस्था मिलाइएको छ । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुलाई समन्वयकारी भूमिका खेल्ने मन्त्रालयको विश्वास छ । रोजगार मेलामा संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित सरकारी कार्यालयहरु, सार्वजनिक र निजी रोजगारदाता, संघसंस्थाहरु, नागरिक समाज, रोजगारीको खोजीमा रहेका सबैलाई सहभागिताका लागि मन्त्रालयले आग्रह गरेको छ ।
मेलामा स्वदेशको मात्र नभई वैदेशिक रोजगारीको अवसरका बारेमा पनि जानकारी लिन सकिने मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालले बताए । ‘मेलाको मुख्य उद्देश्य भनेको रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवद्र्धन गर्दै लैजानु हो,’ उनले भने, ‘मेलामार्फत आन्तरिक रोजगारी प्रवद्र्धनसँगै वैदेशिक रोजगारीको सन्दर्भमा थुप्रै कुराहरू तल्लो तहसम्म पु¥याउन सकिन्छ र व्यवस्थित बनाउन मद्दत पुग्छ भन्ने विश्वास लिइएको छ ।’ मेलामा वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष र म्यानपावर कम्पनीका विभिन्न छाता संगठनले पनि स्टल राख्ने रिजालले बताए ।
मन्त्रालयले कोशी प्रदेशबाट सुरु हुने मेला प्रत्येक प्रदेशमा दुई–दुई दिनसम्म चल्ने तालिका सार्वजनिक गरेको छ । जसअनुसार कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २७ र २८ गते र बागमती प्रदेशको ललितपुरमा २९ र ३० गते मेलाको कार्यतालिका तय गरिएको छ ।
मेला हुने मिति र स्थान
कोशी प्रदेश (विराटनगर) जेठ १७ र १८ गते
मधेस प्रदेश (जनकपुर) जेठ १९ र २० गते
गण्डकी प्रदेश (पोखरा) जेठ २१ र २२ गते
लुम्बिनी प्रदेश (बुटवल) जेठ २३ र २४ गते
कर्णाली प्रदेश (सुर्खेत) जेठ २७ र २८ गते
बागमती प्रदेश (ललितपुर) जेठ २९ र ३० गते