काठमाडाैं - गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार अधिवक्ता अनुप भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
रिटमा महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाउँदै पत्र बदर गर्न माग गरिएको छ । यसअघि अधिवक्ता भट्टराईले रिट दिए पनि सर्वोच्चको प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । गत बुधबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो ।
अधिवक्ता भट्टराईद्वारा दायर रिटमा गृहमन्त्रीले अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्तविपरीत समेत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्था उनलाई पदबाट निलम्बन गर्न माग गरिएको छ ।
‘विपक्षी उपप्रधान तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्तविपरीत समेत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नू भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश जारी गरिपाऊँ,’ रिटमा भनिएको छ । उक्त रिट भोलि बुधबारका लागि पेसी तोकिएको छ ।