काठमाडौं- सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)मा सहमतिनजिक पुगेको दलहरुले बताएका छन् । सोमबार साँझ बसेको कार्यदलको बैठकपछि कानुनमन्त्री पदम गिरीले आफूहरू एक ठाउँमा आइसकेको दाबी गरे । कार्यदलका संयोजक गिरीले प्रधानमन्त्रीको उपस्थितिमा सहमति अन्तिम अवस्थामा पुगेको दाबी गरे ।
योसँगै सदनको अवरोधसमेत हट्ने उनले बताए । ‘लगभग सहमति भइसकेको छ । बिहान ११ बजेको बैठकले यसको टुंगो लाग्छ । सदन पनि खुल्छ,’ गिरीले भने । पार्टीमा छलफलपछि यसको टुंगो लाग्ने उनले बताए ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि टिओआरबारे दलहरु निष्कर्ष नजिक पुगेको बताए । ‘छलफल राम्रो भएको छ । बिहान ११ बजे बैठकपछि निष्कर्ष निस्कन्छ । त्यसपछि फाइनल हुन्छ,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने । कार्यदलमा सदस्य रहेको कांग्रेस सहमहामन्त्री जीवन परियारले पनि टिओआर सहमतिनजिक पुगेको बताए । ‘कुरा सहमति नजिक पुगेको छ । हामी भोलि बिहान ११ बजे बसेर फाइनल गर्ने भन्ने भएको छ,’ परियारले भने । सहमतिको बिन्दु के त ? यसबारे भने लेखक र परियारले खुलाउन चाहेनन् ।